महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा

 भदौ १६, २०७७ मंगलबार १०:२९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी - कोभिड-१९ सङ्क्रमण फैलँदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक हप्ता अवधिका लागि यो आदेश जारी गरेको हो ।

सोमबार थपिएको निषेधाज्ञाको अवधि भदौ २२ गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गर्नुभएको आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि लागू हुनेगरी भदौ १ गते १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो । यद्यपि त्यसअघि पनि साउन २१ गते नै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिका-३ र ५ मा निषेधाज्ञा जारी थियो ।

भदौ लागेदेखि नै जिल्लाभरि जारी गरिएको निषेधाज्ञाबीच नै यहाँ सङ्क्रमण ह्वात्तै बढेको छ । जिल्लामा कोरोना भाइरसबाट १० जनाकाे ज्यान गइसकेकाे छ । तीमध्ये दुई जनाको ज्यान सोमबार भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । 

जिल्लामा सोमबार साँझसम्म ११९ महिला र एक हजार १२४ पुरुषसहित एक हजार २४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सात जनामा सोमबार नै पुष्टि भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो । भदौ लागेयताका १५ दिनमा जिल्लामा २३४ नयाँ सङ्क्रमित थपिएका छन् ।

जिल्लामा लगातार निषेधाज्ञा थपिँदै गए पनि यसको अनुगमन भने नभएको गुनासो बढेको छ । साइकल, मोटरसाइकल, जिप, टेम्पु निर्बाध चल्नु र जताततै भीडभाड बढे पनि त्यसको निगरानीमा प्रहरी, प्रशासन र पालिकाको नेतृत्व उदासीन देखिएको बर्दिवास-१४ का अम्बिकाप्रसाद गौतमको गुनासो छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया