काठमाण्डौ उपत्यकामा होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत

अत्यावश्यक वस्तुको घरदैलो सेवा दिउँसो एक बजेदेखि बेलुका सात बजेसम्म

 भदौ १९, २०७७ शुक्रबार १०:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जिल्ला प्रशासन कार्यालय काठमाण्डौले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड  स्वीकृत भएको र आजदेखि लागू हुने जानकारी दिनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले मापदण्ड तयार पारेको हो । घरदैलो सेवा भने दिउँसो एक बजेदेखि बेलुका सात बजेसम्म मात्रै गर्न पाइने छ । कोभिड-१९ को सङ्क्रमण बढिरहेको अवस्थामा मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा घरघरमा सङ्क्रमण फैलिँन सक्ने जनाउँदै स्थानीय प्रशासनले अघिल्लो हप्तादेखि सेवा बन्द गरेको थियो । 

यसरी सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र त्यसको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख छ । वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ । सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने, सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने जनाइएको छ । 

सेवा सञ्चालन गर्ने व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गरेको, साबुन पानीले नियमित हात धोएको तथा स्यानिटाइजरबाट हात सफा गरेको हुनुपर्ने छ । यसरी डेलिभरी गर्नै व्यक्तिको नाम, नम्बर संस्था स्पष्ट खुलाउनुपर्ने छ । मापदण्डमा माग बमोजिमको गुणस्तर कायम हुनुपर्ने, अतिरिक्त शुल्क लाग्ने भए पहिले नै जानकारी गराउनुपर्ने छ । तोकिएको बाहेकको सेवा सञ्चालन गर्न पाउने छैन । 

बिल र बीजक अनिवार्य साथमा राख्नुपर्ने छ । घर दैलोमा सेवा पुर्याउनेले अनिवार्य रुपमा कम्पनीको लोगो र नामसहित व्यक्तिगत सुरक्षा उपकरण मास्क, फेस सिल्ड र स्यानिटाइजरको प्रयोग गरेको हुनुपर्नेछ । डेलिभरी गर्ने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ ।

यस्तै, घरदैलो सेवा प्रदान गर्ने संस्थाले सेवा दिने व्यक्ति र गाडीको विवरण प्रशासन कार्यालय, ट्राफिक प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराउनुपर्नेछ । स्थानीय प्रशासनले त्यसरी प्राप्त भएको विवरणअनुसार डेलिभरी गर्ने व्यवसाय र गाडीको आवश्यक सङ्ख्या निर्धारण गर्नेछ । यस्ता गाडी चार पाङ्ग्रे भएमा चालकसहित बढीमा दुई जना र दुई पाङ्ग्रे भएमा एक जना मात्रै हुुनु पर्नेछ । 

सेवा लिने व्यक्तिको नाम, ठेगाना र फोन नम्बर अनिवार्य लिनुपर्नेछ ।  विषयमा स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने र मापदण्ड विपरीत भए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । यो मापदण्ड काठमाण्डौ उपत्यकाको तीनै जिल्लामा लागू हुनेछ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया