धरहराको चौधाैँ तलाको काम सकिँदै, अहिलेसम्म १ अर्ब १३ करोड रुपैयाँ खर्च

 भदौ १९, २०७७ शुक्रबार १६:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धरहराको चौधौँ तलाको काम अन्तिम चरणमा पुगेको छ । लकडाउन हटेपछि धमाधम काम भइरहेको धरहरामा निषेधाज्ञाका बेलामा पनि काम भइरहेको छ । 

चौधौँ तलाको (सियर वाल) अर्थात् गोलो गाह्रोको ढलान शनिबार (भोलि) सम्ममा सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । आउँदो २५ गते सम्ममा चौधौँ तलाको भुइँ ढलानको काम सकिने प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका राजुमान मानन्धरले जानकारी दिनुभयो । 

अघिल्लो हप्ता धरहराको १३ औँ तलाको ढलानको काम सकिएको थियो । हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम भइरहेको प्राधिकरणको दाबी छ । 

धरहरा २२ तलाको हुनेछ । बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका मानन्धरका अनुसार धरहरामा टावर निर्माणको काममध्ये झण्डै ६५ प्रतिशत सकिएको छ ।

‘धरहराको चौधौँ तला लगभग अन्तिम चरणमा पुग्न आँटेको छ’, उहाँले भन्नुभयो, ‘टावर पुनर्निर्माणको काम झण्डै ६५ प्रतिशत र समग्र धरहरा पुनर्निर्माणको काम ४१ दशमलव ५ प्रतिशत भइसकेको छ ।’

लकडाउन खुलेपछि धरहरा पुनर्निर्माणमा झण्डै डेढ सय कामदारले नियमित काम गर्दै आएका छन् । गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै धरहराको पुनर्निर्माणमा खटिएका कामदार घर गएका थिए । तर काठमाण्डौमा लकडाउन खुकुलो भएपछि कामदारलाई ल्याइएको थियो । उनीहरुको कोरोना परीक्षण गरी काममा खटाइएको हो । 

‘लकडाउनका बेला काममा केही ढिलासुस्ती भयो’, विज्ञ मानन्धरले भन्नुभयो, ‘अहिले निषेधाज्ञाको बेला खासै असर छैन, निर्माण सामग्री पनि सहजै आएको छ ।’ उहाँका अनुसार टावर पुनर्निर्माणको कामसँगै भूकम्प सङ्ग्रहालय र गाडी पार्किङको बेसमेन्टको काम पनि भइरहेको छ । जमिनमुनि तीन वटा तलामा पार्किङको व्यवस्था हुनेछ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरा ढलेको थियो । पुरानो धरहरालाई संरक्षण गरी राखिएको छ । भूकम्प गएको तीन वर्षपछि धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो । धरहरामा झण्डै तीन अर्ब ४८ करोड रुपैयाँ खर्च हुनेछ । धरहरामा अहिलेसम्म १ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ ।

झण्डै ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको नयाँ धरहरा पहिलाको धरहराभन्दा चौडा हुनेछ । नयाँ धरहरामा पार्किङ, बगैँचा, सङ्ग्रहालय, प्रदर्शनी हललगायत बनाइनेछ । १८ औँ तलामा सानो हल हुनेछ । यो हलमा भूकम्पसम्बन्धी सामग्रीको भिडियो हेर्न पाइनेछ । यी सबै काम पुनर्निर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्म सक्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका सम्पदा विज्ञ मानन्धरले धरहरा निर्माण कम्पनीले निर्धारित समयमा काम नसकिने भन्दै समय थप्न माग गरेको समेत बताउनुभयो । २०७५ भदौमा सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटीसी रमनलाई दुई वर्षमा काम सक्ने गरी पुनर्निर्माणको ठेक्का दिइएको थियो ।

ऐतिहासिक धरहरा भीमसेन थापाले निर्माण गरेका थिए । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया