यो वर्ष बाढी पहिरोमा परेर २७७ जनाको ज्यान गयो, बाग्लुङ र सिन्धुपाल्चोकमा धेरै क्षति

 भदौ १९, २०७७ शुक्रबार १८:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्ष वैशाखदेखि अहिलेसम्म बाढी र पहिरोका कारण दुई सय ७७ जनाको ज्यान गएको छ । पहिरोका कारण दुई सय ४५ र बाढीका कारण ३२ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

पहिरोमा परेका ५१ जना र बाढीका कारण ४३ जना गरी ९४ जना बेपत्ता रहेका छन् । त्यस्तै गएको पाँच महिनामा पहिरोमा परि एक सय ९१ जना घाइते भएका छन् भने बाढीका कारण ११ जना घाइते भएको प्राधिकरणको तथ्याङ्क छ । 

यो वर्षको मनसुन सुरु भएदेखि बिहीबारसम्म मात्रै दुई सय ४३ जनाले पहिरोमा ज्यान गुमाएका हुन् । त्यस्तै बाढीमा परेर २९ जनाको ज्यान गएको छ ।

बाग्लुङमा यो वर्षको मनसुन सुरु भएयता अहिलेसम्मकै सबैभन्दा धेरै क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाग्लुङको ढोरपाटन नगरपालिका ७, ८ र ९ को तटीय बस्तीमा भलसहितको पहिरो पसेको र कुन ठाउँमा बस्ती थियो भनेर यकिनसमेत गर्न नसक्ने गरी बगाएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

बाग्लुङ्गको ढोरपाटनमा गएको बाढी/पहिरोमा परि अहिलेसम्म १३ जनाले ज्यान गुमाएका छन् । २५ जना हराइरहेका छन् । यसअघि साउन ३० गते सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परि ३६ जनाले ज्यान गुमाएका छन् । अझै तीन जना बेपत्ता छन् । 

यो वर्ष नदी तटीय क्षेत्रमा भेल पहिरो तथा बाढीले बढी क्षति पुर्याएको र नदी तटीय क्षेत्रको जोखिम आँकलनमा कमजोरी भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया