सेनाको वीरदल गणले एकैदिन तयार पार्‍याे २२५ शय्याको आइसोलेशन

 भदौ २२, २०७७ सोमबार १८:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकैदिनमा दुई सय २५ शय्याको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र उनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारिएको हो ।

नेपाली सेनाको उपत्यका पृतना अन्र्तगत वीरदल गणले सैनिक आवासीय महाविद्यालय सल्लाघारीमा रहेको क्याम्पसको बीबीए ब्लकमा एक सय ५० र सूर्यविनायकमा रहेको वीरदल गणमा ७५ शय्या गरी दुई सय २५ शय्याको आइसोलेशन वार्ड तयार पारेको हो । 

वीरदल गणका गण प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले एकैदिनमा महाविद्यालयको भवनको २५ वटा कोठामा एक सय ५० शय्याको आइसोलेशन वार्ड तयार पारेको बताउनुभयो । 

यहाँ मङ्गलबारदेखि नै सङ्क्रमित सैनिकलाई राखेर उपचार सुरु गरिने र सूर्यविनायकमा तयार पारिएको ७५ शय्याको आइसोलेशन भने सोमबार नै सङ्क्रमित सैनिकले भरिएको उहाँले जानकारी दिनुभयो ।

आइसोलेशनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतना अन्तर्गतको वीरदल गणले गर्ने भएको छ । त्यस्तै चिकित्यसकसहितको स्वास्थ्यकर्मीको टोली, फोेहर व्यवस्थान र खानपिनको व्यवस्थापन सेनाको वीरेन्द्र अस्पताल छाउनीले गर्ने भएको छ । सैनिकको दुईवटै आइसोलेशनमा चिकित्सकसहित पाँच पाँच जनाको स्वास्थ्य टोली परिचालन गरिएको छ । 

कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेशन अभाव हुँदै गएपछि सेनाले सैनिकका लागि छुट्टै आइसोलेशन तयार पारेको हो । प्रमुख सेनानी पौडेलले भन्नुभयो, ‘उपत्यकामा आइसोलेशनको अभाव हुँदै गएको छ, यो अवस्थामा सङ्क्रमित सेना र आश्रित परिवारलाई छुट्टै व्यवस्था गर्न सके उनीहरुले ओगटेको आइसोलेशन सर्वसाधारणका लागि प्रयोग गर्न थप सहयोग हुन्छ भनेर यो आइसोलेशन तयार भएको हो ।’ 

यसअघि पनि चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीको नेपाल विद्युत् प्राधिकरणको भवनमा दुई सय जना अट्ने क्षमताको क्वरेण्टीन, त्यही क्वरेण्टीनका लागि दुई सय शय्याको आइसोलेशन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र यूसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेशनको व्यबस्थापन पनि वीरदल गण नै गरेको थियो ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया