तोकिएको अवधि सकिँदा पनि ओलाङचुङगोला लोकमार्गमा पर्ने लिम्बुनी पुल निर्माणको काम १० प्रतिशत मात्र

 भदौ २५, २०७७ बिहिबार १७:१३:५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – भारतको सीमाना विराटनगरको रानी र ताप्लेजुङको टिप्ताला जोड्ने नेपालकै छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गमा पर्ने तमोर नदी माथिको पुल निर्माणको काम १० प्रतिशत मात्र काम सकिएको छ । 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिन र पाँचथर जिल्लालाई जोड्ने तमोर नदी माथि बन्ने लिम्बुनी पुलको काम २०७७ भदौ ५ गते सम्ममा सकिनु पर्ने थियो । तर पुल निर्माणको लागि तोकिएको समय सकिँ‌दा पनि निर्माण १० प्रतिशत मात्र भएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग कार्यालयका सूचना अधिकारी संजिव गुप्ताले बताउनुभयो । 

२२ करोड रुपैयाँको लागतमा सपना याक्थुङवा जेभी कन्स्ट्रक्सनले २०७४ साल फागुन ६ गते सम्झौता गरी १०२ मिटर लम्बाईको यो पुल निर्माणको काम शुरु गरेको थियो । पुल बनाउन ठेक्का लिने कम्पनीको लापरबाहीका कारण काम ढिला भएको बताइन्छ । विराटनगरको रानी भन्सारबाट धनकुटाको मूलघाट हुँदै तमोर नदीको किनारै किनार निर्माण हुँदै गरेको यस सडकमा लिम्बुनि पुल नबन्ने हो भने सडकको कुनै अर्थ नहुने देखिन्छ । 

उत्तर–दक्षिण ओलाङचुङगोला मार्गमा करोडौंको लागतमा दर्जनाैं पुलहरु निर्माण भइरहेका छन् । ओलाङचुङगोला मार्गमा थिवाखोला पुल ४ करोडको लागतमा बन्दै छ भने फुङलिङ नगरपालिका र मिक्वाखोला जोड्ने तमोर नदी माथि १७ करोडको लागतमा अर्को पुल निर्माण भइरहेको छ । 

ताप्लेजुङ–ओलाङचुङगोलामा पर्ने याफ्रे खोलामा बेलिबृज बनि सकेको छ । फुरुम्बु खोलामा ३ करोड ७ लाखको लगानीमा पुल निर्माण सम्पन्न भइसकेको सूचना अधिकारी गुप्ताले बताउनुभयो । यसै मार्गमा पर्ने तावाखोलामा ३ करोड ७ लाखको लागतमा अर्काे पुल निर्माण भइरहेको छ । 

यसैगरी यसै मार्गमा पर्ने थिवा खोलामा पनि ४ करोडको लागतमा पुल निर्माण गरिएको छ । यस मार्गमा दर्जनाैं खोलाहरु रहेका छन् । तीमध्ये तमोर नदीको तापेथोक र लेलेप जोड्ने तमोर नदीमाथि बन्ने रानी पुलको ठेक्का यो वर्ष खुल्ने सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । 

त्यस्तै तापेथोक नजिकै रहेको सिसंवा खोलाको प्रस्ताप पारित भएर आएको र ठेक्काको प्रकृया अगाडि बढेको छ । ताक्मावा खोलामा पनि यसै वर्षदेखि पुल निर्माण सुरु हुने ओलाङ्चुङगोला उत्तरदक्षिण सडक आयोजना कार्यालयका सूचना अधिकारी ईन्जिनियर संजिवकुमार गुप्ताले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया