ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको मुख्य नगदेवाली अलैंचीको मूल्य घटेपनि कृषकहरुले खेती विस्तार गरिरहेका छन् । धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जानी हुने खेती योग्य जमिनलाई मासेर अलैंची लगाउने प्रकृया रोकिएको छैन । अन्य बालीले भन्दा अलैंचीको मूल्य घटे पनि आम्दानी बढी हुने भएकोले पनि अलैंचीको विस्तार नरोकिएको हो ।
खोल्सीको कालो सुन भनेर चिनिने अलैची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैंचीको विस्तार नरोकिएको हो ।
जिल्लाका धेरै घरका करेसावारीमा अलैंचीले ढाकेको छ । जेठको तेश्रो हप्तादेखि साउन पहिलो सातासम्म अलैंचीको बिरुवा रोप्ने गरिन्छ ।
यसवर्ष अलैंचीको विरुवा उत्पादन भए जति सबै बिक्री भएको छ । फुङ्लिङ नगरपालिका–६ स्थित माउन्टेन मल्टी एग्रिकल्चर फर्मले ६० हजार अलैंचीको बिरुवा बिक्री गरेको छ । गएका वर्षहरुमा प्रतिवटा १५ रुपैयाँमा बिक्री भएको अलैंचीको बिरुवा यस वर्ष प्रतिवटा ४ देखि ८ रुपैयाँमा बिक्री भएको एग्रिकल्चरका प्रोपाईटर विमल भण्डारीले बताउनुभयो ।
भार्लाङ जातको अलैंचीका बिरुवा प्रतिवटा ८ रुपैयाँ, गोलसाई ५ र रामसाई ४ रुपैयाँका दरले बिक्री गरेको फर्म प्रोपाईटर विमल भण्डारीले बताउनुभयो ।
तीन वर्षअघि अलैंचीको दानाबाट विरुवा उत्पादन सुरु गरेका भण्डारीले आगामी वर्ष १ लाख बिरुवा उत्पादन गर्ने बताउनुभयो । उहाँले करिब ४ लाख रुपैयाँ खर्चेर टनेलभित्र बिरुवा उत्पादन गरेको पनि बताउनुभयो ।
किसान भिङमारे लिम्बुले ५० हजार विरुवा बिक्री गरेको बताउनुभयो । वार्षिक १ लाख ३४ हजार रुपैयाँमा जग्गा भाडामा लिएर विरुवा उत्पादन गर्दै आएका लिम्बूले गएको वर्ष ११ लाख रुपैयाँको विरुवा बिक्री गर्नुभएको थियो ।
यद्यपि यसवर्ष रोग र कम हेरचाहका कारण उत्पादन घटेको उहाँको भनाइ छ । बर्सेनि अलैंचीको मूल्य घट्दै गएकाले विरुवा उत्पादन आउँदो वर्ष कम गर्ने सोचमा पुगेको लिम्बूले बताउनुभयो ।
आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका जनार्धन प्रसाईले पनि यसवर्ष साढे ५ लाख रुपैयाँभन्दा बढीको अलैंचीका विरुवा बिक्री गरेको बताउनुभयो । तर, गएको वर्षको तुलनामा डेढ लाख घटी बिरुवा बिक्री गर्नुभएको हो । ‘नबेचौं लगानी डुब्छ, बेचौ पहिलेजस्तो मूल्य छैन ।’
४ वर्षयता खुल्ला रुपमा अलैंची बिरुवा उत्पादन गर्दै आएको मादेन एग्रोभेटका अनुसार अलैंचीको मूल्य घटे पनि खेती गर्नेको संख्यामा कमी आएको छैन । एग्रोभेट सञ्चालक चन्द्र मादेनका अनुसार रोगकिरा नियन्त्रण गर्न सके अन्य बालीको तुलनामा अहिलेकै मूल्यमा फाइदाजनक रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।