काेराेना सङ्क्रमणबाट निकाे भएकाहरुले प्लाज्मा दान अभियान सुरु गरे

 असोज ७, २०७७ बुधबार १४:४३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभिड १९ सङ्क्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान सुरु गरेका छन् ।  

कोभिड १९ सङ्क्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म सङ्क्रमितको जीवनरक्षा गर्न सकिने भन्दै उनीहरुले बुधबारदेखि प्लाज्मा दान अभियान सुरु गरेका हुन् ।

काठमाण्डौको त्रिवि शिक्षण अस्पताल पुगेर कोभिड १९ सङ्क्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको सुरुवात गरेका हुन् । उनीहरुले ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारासहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् । कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड १९ सङ्क्रमणसँग जुधिरहेका बिरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान सुरु गरिएको बताउनुभयो । प्लाज्मा सङ्कलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उहाँले बताउनुभयो ।  

कार्यक्रममा कोभिड १९ सङ्क्रमणबाट निको भएका व्यक्तिहरुले सङ्क्रमितहरुको आत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । उनीहरुले सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्त्वपूर्ण हुने भएकाले आफूहरुले प्लाज्मा दान अभियानको सुरुवात गरेको बताए । ‘मिल्नेले दान गरौँ, नमिल्नेले उत्प्रेरित गरौँ, सबै लागौँ, सँगसँगै लागौँ’ भन्दै अभियान सुरु गरिएको उनीहरुले बताए ।

पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड १९ सङ्क्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रुपमा बिरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले सङ्क्रमण निको भएका व्यक्तिहरु पनि प्लाज्मा दिएर सङ्क्रमणसँग लडिरहेका बिरामीहरुको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन् । यो अभियानलाई देशैभर सञ्चालन गर्ने पनि उनीहरुले बताए ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया