ओखलढुङ्गाको पर्यटकीय स्थल थोलेदेम्बामा चहलपहल सुरु (फाेटाे फिचर)

 असोज १३, २०७७ मंगलबार १०:९:८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा - सय पर्यटकीय गन्तव्यकाे सूचीमा परेको ओखलढुङ्गाको प्रमुख पर्यटकीय गन्तव्य थोलेदेम्बा पदमार्गले जोडिएको छ ।

केन्द्र सरकारको अनुदानमा खिजीदेम्बा गाउँपालिकाले पदमार्ग निर्माण गरेपछि पर्यटकलाई सहज हुने भएको छ । थोलेदेम्बा ओखलढुंगाको सबैभन्दा अग्लो पर्यटकीय स्थल हो ।

समुद्र सतहबाट ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडाबाट नेपालका धेरैजसो हिमालहरु देख्न सकिन्छ भने मौसम खुलेको समयमा पूर्वमा धरान र काठमाण्डौ उपत्यकामा धरहरामा बालेको बत्ति देखिन्छ।

भूकम्पले भत्काएको धरहरा निर्माणाधीन छ । गएकाे वर्ष सरकारले घोषणा गरेका १ सय गन्तव्यमा ओखलढुंगाका थालेदेम्बा र पोकली झरना पनि परेका थिए । थोलेदेम्बा पिके हुँदै सगरमाथा आधार शिविर जाने पदमार्गमा पर्छ ।

अहिले खिजीदेम्बा गाउँपालिकाको केन्द्र खिजीफलाटे नजिकैको चुप्लुभञ्ज्याङबाट देम्बाडाँडासम्म जाने ७ सय  २३ मिटर पदमार्ग निर्माण गरिएको हो । बाटोमा ढुंगा बिच्छ्याइएको छ । बाटोमा आरामका लागि २ वटा प्रतीक्षालय पनि निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताउनुभयो । 

गाउँपालिकाले केन्द्र सरकारबाट पाएको ५० लाख बजेटमध्ये पहिलो किस्ता बापतको २५ लाख लागतमा पदमार्ग बनाएको हो । थोलेदेम्बा जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य भएको पर्यटन व्यवसायी पेम्बा शेर्पा बताउनुहुन्छ ।

शेर्पाका अनुसार यो पदमार्ग रामेछापको शिरीषे हुँदै पोकली झरना, त्यहाँबाट खिजीफलाटे हुँदै थोलेदेम्बा ल्याउन सके पर्यटकलाई आकर्षण बन्नेछ । थोलेदेम्बाबाट पिके नजिकै पर्छ ।

हिमाल आरोहण गर्न नसक्ने विदेशी पर्यटकहरु पिके चढेर फर्कने गरेकाले देम्बा पिके पदमार्ग महत्वपूर्ण रहेकाले पिके जोड्न देम्बामा पर्यटकीय पूर्वाधार तयार गर्न पहल भइरहेको सांसद यज्ञराज सुनुवार बताउनुहुन्छ ।

सुनुवारकै पहलमा २०७४ सालमा थोलेदेम्बा प्रथम महोत्सव आयोजना भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सव उद्घाटन गर्नुभएको थियो । देम्बामा विभिन्न प्रजातिका लाली गुराँस र चिमालको जंगल छ ।

जसले फागुनदेखि चैतसम्म फूलबारी जस्तो देखिने पर्यटन व्यवसायी आङ्दावा शेर्पा बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया