तीन जना बोकेर सुकेटार पुगेको नेपाल एअरलाइन्सकाे जहाज रित्तै काठमाण्डौ फर्कियो

 कात्तिक ५, २०७७ बुधबार १५:४५:२९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – सात महिनापछि बुधबार नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) काे जहाज ताप्लेजुङको सुकेटार विमानस्थल आए पनि विना यात्रु काठमाण्डौ फर्किएको छ ।

काठमाण्डौबाट तीन जना यात्रु लिएर सुकेटार आइपुगेको जहाज रित्तै फर्किएको हो । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री योगेश भट्टराईको जिल्ला ताप्लेजुङमा सुकेटार एउटा मात्रै विमानस्थल हो ।

ताप्लेजुङबाट काठमाण्डौ जाने कोही यात्रु नभएपछि जहाज रित्तै फर्किएको हो । तर दुई मिनेटको फरकमा आएको सीता एअरले भने १५ जना यात्रु बोकेर सुकेटर विमानस्थलमा अवतरण गर्‍याे । निजी विमान कम्पनीले १५ जना यात्रु बोकेर आउँदा नेपाल वायु सेवा निगम भने तीन जना यात्रु मात्रै लिएर सुकेटार आइपुगेको हो । 

नेपाल वायु सेवा निगमको जहाजमा काठमाण्डौबाट ११ जना यात्रु भए पनि कोरोनाको पीसीआर परीक्षण नगरेका कारण आठ जना आउन नपाएको पर्यटनमन्त्रीका प्रेस सल्लाकार राजेन्द्र श्रेष्ठले बताउनुभयो । सल्लाकार श्रेष्ठ पनि त्यही जहाजबाट ताप्लेजुङ आउनुभएको हो । श्रेष्ठसहित तीन जनामात्र नेपाल वायु सेवाको जहाजबाट ताप्लेजुङ आएका हुन् । 

सीता एअरमा आउने सबै जना पीसीआर परीक्षण गरेर आएका र टिकट काट्दा नै पीसीआर परीक्षणको बारेमा सूचित गरिने कम्पनीले बताएको छ । नेपाल वायु सेवा निगमका यात्रुलाई भने पीसीआर परीक्षण गर्नुपर्छ भन्ने जानकरी नभएका कारण पनि यात्रुहरु छुटेको बताइएको छ ।     

सुकेटार विमानस्थलमा गएको सात महिनायता उडान भएको थिएन । २०२८ सालमा निर्माण भएको विमानस्थलमा अहिलेसम्म पनि नियमित उडान हुन सकेको छैन । दशैँ तिहारको आगमनसगै यात्रुको सुविधालाई मध्यनजर गर्दै उडान सुरु गरिएको हो  । 

विमानस्थल सुकेटार डाँडामा भएका कारण पनि नियमित उडन हुँदैन । यो क्षेत्रमा छिनछिनमा कुहिरोले ढाक्ने गर्दछ । ताप्लेजुङ प्रवेश गरिसकेपछि अवतरण गर्न दुई मिनेट पनि नलाग्ने तर कुहिरोले अवरोध गर्ने गरेको क्याप्टेन रविन्द्र डङ्गोले बताउनुभयो । 

‘विमानस्थलमा एअर फायर एप्रोज भए सहज हुने’ 

क्याप्टेन डङ्गोलले एअर फायर एप्रोज प्रविधि जडान गरे १२ महिना नै जहाज चल्नेसमेत बताउनुभयो । यो प्रविधि जडान गर्ने हो भने सधैँलाई सहज हुने उहाँको भनाइ छ । 

ताप्लेजुङ जिल्लामा रहेको नेपालकै चर्चित पाथीभरा देवीको दर्शन गर्न सामान्य अवस्थामा बर्सेनि तीन लाख ५० हजार मानिस तथा पर्यटकहरु आउने गरेका छन् । साथै विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गर्न आउने पर्यटकका लागि भए पनि नियमित उडान गर्न सके यहाँको पर्यटनमा वृद्धि हुनेछ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • DIPESH

    Oct. 21, 2020, 5:20 p.m.

    आन्तरिक उडानको लागि पिसिआर चाहिंदैन , आफूलाई जानु थियो, अनि रिजर्भ बस जसरी लिएर गएको हो यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया