मन्त्री भट्टराईलाई ताप्लेजुङका नागरिक र जनप्रतिनिधिकाे गुनासाेसँगै मागकाे ओइराे

 कात्तिक २४, २०७७ सोमबार २०:३५:९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

स्थानीयसँग भेटघाट गर्नुहुँदै पर्यटनमन्त्री भट्टराई

ताप्लेजुङ – ताप्लेजुङको ग्रामीण क्षेत्रका स्थानीयवासी तथा जनप्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई समक्ष विभिन्न योजनाको माग गरेका छन् ।

ताप्लेजुङको पालिका भ्रमणमा रहनुभएका मन्त्री भट्टराई समक्ष प्रत्येक पालिकाका बासिन्दा तथा जनप्रतिनिधिले विभिन्न योजनाको माग गरेका हुन् ।

मेरिङ्देन गाउँपालिका केन्द्र सान्थाक्रामा सोमबार आयोजित कार्यक्रममा मन्त्री समक्ष स्थानीयले कृषि, सडकदेखि विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित विभिन्न मागहरु राखेका छन् । उनीहरुले केही पर्यटन पूर्वाधार तथा विकाससँग सम्बन्धित माग पनि राखेका छन् भने स्थानीयले राखेका मागहरुमा केही नयाँ योजना छन् । उनीहरुले अधिकांश अधुरा योजनाहरु सम्पन्न गर्नुपर्ने भन्दै बजेटको माग गरेका हुन् । 

मेरिङ्देन गाउँपालिका १ का वडाध्यक्ष लाक्पातेम्बा शेर्पाले सदरमुकाम फुङ्लिङसँग सडक सम्बन्ध जोड्ने गरी सान्थाक्रा–लाक्चुङ–ओख्राबु–थिङ्लाबु सडकका लागि बजेट व्यवस्था गरिदिन माग गर्नुभयो । शेर्पाले आफ्नो वडा –पहिलेको थिङ्लाबु गाविस )मा रहेको मेरिङ्देन झरनाको प्रवद्र्धन गर्नका लागि पनि बजेटको माग गर्नुभयो । 

वडा नम्बर ५ का अध्यक्ष जयबहादुर खड्काले थुकिमामा रहेको माश्रिङ स्वास्थ्य चौकी भवन चुहिने अवस्थाको रहेकाले बिरामीको उपचारमा समस्या भएको बताउनुभयो । उहाँले स्वास्थ्य भवनको मर्मत तथा उपचार कक्षको व्यवस्थाका लागि आवश्यक बजेटको व्यवस्थाका लागि मन्त्री भट्टराईलाई आग्रह गर्नुभयो । 

यस्तै अन्य वडाका वडाध्यक्षहरुले पनि आ–आफ्नो वडाभित्र रहेका समस्या तथा आवश्यकतालाई पूरा गर्न बजेटको माग राखेका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले धेरै योजनाहरु सुरु गरिएको भए पनि पर्याप्त बजेटको अभावमा सम्पन्न गर्न समस्या रहेको बताउनुभयो । गाउँपालिकाको मात्र बजेट स्रोतले त्यस्ता योजनाहरु पूरा गर्नलाई सम्भव नभएकोले बजेटको व्यवस्था गरिदिन उपाध्यक्ष तम्बाहाम्फेले मन्त्रीसमक्ष माग राख्नुभयो । पालिकाभित्रका धेरै सडक योजना, खेलमैदान, विद्युतीकरण लगायतका योजनाहरुमा बजेटको अपुग रहेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले पनि आवश्यक बजेटकै अभावमा गाउँपालिकाको धेरै योजनाहरु अधुरो रहेको गुनासो सुनाउँदै सङ्घीय सरकारमार्फत बजेट माग गर्नुभयो । लिम्बूले दरबन्दीअनुसार कर्मचारी नहुँदा पालिकाको सेवा प्रवाहमै समस्या रहेकाले कर्मचारी पदपूर्ति गर्नेबारे मन्त्रीको ध्यानाकर्षण गर्नुभयो । त्यस्तै विद्यालयमा पनि दरबन्दीअनुसार शिक्षक नहुँदा पढाइ नै प्रभावित भइरहेकाले शिक्षक व्यवस्था गर्नुपर्ने उहाँको माग थियो । 

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले पालिकाको सबै ऐन बनिनसकेकाले आफ्नो जिम्मेवारीभित्र रहेको कतिपय काम प्रभावित हुँदै आएको बताउनुभयो । विद्यालय सहयोगी तथा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता (शिक्षक) को तलब सुविधा अत्यन्तै कम रहेकोले मन्त्रीमार्फत सरकारसँग तलब वृद्धि गर्नुपर्ने माग शिक्षकहरुले राखेका छन् । गाउँ–गाउँमा बेरोजगारको सङ्ख्या उच्च रहेकाले रोजगारीको व्यवस्था तथा बेरोजगार युवा लक्षित कार्यक्रम ल्याउन पनि स्थानीयले माग राखेका छन् ।

यसरी नै फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिकाका स्थानीयले पनि विभिन्न योजनाका लागि बजेटका लागि मन्त्रीसमक्ष माग राखेका छन् । विद्यालयको घेराबारदेखि सिँचाइ, सडक लगायतका पूर्वाधार निर्माणका लागि बजेट र शिक्षा, स्वास्थ्यसँग सम्बन्धित योजनाहरु माग गरेका छन् ।   

यता मन्त्री भट्टराईले स्थानीय, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, युवा लगायत सबै पक्षले राखेको मागका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । सङ्घीय सरकारको प्रतिनिधि भएको हैसियतले स्थानीयस्तरमा रहेको समस्या समाधान गर्ने विषय, बजेट तथा योजना व्यवस्था गर्ने विषयमा आफूले हर प्रयत्न तथा पहल गर्ने उहाँको भनाइ छ । पर्यटन मन्त्रालयमार्फत हुने योजनाका लागि आवश्यकताअनुसार बजेट विनियोजन गर्ने उहाँले स्थानीयलाई आश्वस्त पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया