ठेक्का लागेको एक वर्षपछि बल्ल काम सुरु

 कात्तिक २५, २०७७ मंगलबार १९:१४:४४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – सदरमुकाम ओखलढुङ्गा–रुम्जाटार जोड्ने सडकको बीच भागमा रहेको सिस्ने खोलामा पक्की पुल बनाउने काम ठेक्का लागेको एक वर्षपछि बल्ल सुरु भएको छ । 

ठेकेदारले काम नगरेपछि सङ्घीय संसद्को विकास तथा प्रविधि समितिका सदस्य सांसद यज्ञराज सुनुवार, सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलसहितको टोलीले अनुगमन गरेर तत्काल काम थाल्न निर्देशन दिएको थियो । अनुगमन टोलीको निर्देशनपछि ठेकेदारले जग खन्ने काम थालेको छ । 

२०७६ साल मङ्सिर २४ गते ठेक्का सम्झौता भएको पुलको एक वर्षपछि जग खन्ने काम सुरु भएको हो । २६ मिटर लामो मोटरेबल पुल निर्माण गर्न अर्याल ब्रदर्स जेभीसँग सम्झौता भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भूकम्पीय आपत्कालीन सहयोग परियोजना अन्तर्गत निर्माण हुने पुलको गएको पुसमा शिलान्याससमेत भएको थियो । 

ओखलढुङ्गा–रुम्जाटार सडक खण्डमा पक्की पुल नहुँदा वर्षायाममा बाढी आउँदा यातायात सञ्चालनमा अवरोध हुने गरेको छ । ओखलढुङ्गबाट रुम्जाटार हुँदै चिशङ्खुगढी गाउँपालिका केन्द्र जोड्ने मुख्य सडकको बीचमा पुल निर्माण सकिने अवधिभर ठेकेदारले काम नगरेको हो । 

म्याद सकिनै लाग्दा काम सुरु गरेकाले यस वर्ष पनि समयमै पुल निर्माण हुनेमा अन्योल छ ।   

अन्तिम अपडेट: बैशाख ४, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया