ओखलढुङ्गा : अस्पताल बनाउन स्थानीयले दिए जग्गा

 मंसिर ५, २०७७ शुक्रबार १९:३३:३४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – मोलुङ गाउँपालिकाले निर्माण गर्न लागेको १५ शय्याको अस्पतालका लागि स्थानीयले जग्गा दिएका छन् । मोलुङ गाउँपालिका २ को रामपुर बजारमा अस्पताल बनाउन एक करोड ५० लाख मूल्य बराबरको नौ रोपनी जग्गा चार परिवारले निःशुल्क उपलब्ध गराएका हुन् । 

जग्गा प्राप्त भएपछि अस्पताल निर्माणको प्रक्रिया सुरु गर्न सहज भएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिनुभयो । अहिले रामपुरमा स्वास्थ्य चौकी मात्रै रहेको छ । 

रामपुर बजार सघन सहरी क्षेत्रका रुपमा विकास हुँदै गइरहेकाले जनसङ्ख्याको चाप पनि बढेको छ । गाउँपालिकाका सबै वडालाई पायक पर्ने गरी रामपुरमा अस्पताल निर्माणको प्रक्रिया अघि बढ्नु सुखद भएको स्थानीय युवा प्रकाश दाहालले बताउनुभयो । उहाँका अनुसार समाजसेवी राइटरबाजे भनेर चिनिएका गंगाप्रसाद दाहालको स्मृतिमा छोरा तथा नातिले जग्गा उपलब्ध गराएका हुन् । 

गाउँपालिकालाई रमा दाहाल, चतुर्भुज दाहाल, उत्तमकुमार दाहाल र सन्तोष दाहालले मिलेर उपलब्ध गराएको नौ रोपनी जग्गा रजिस्ट्रेशन पास गर्ने प्रक्रियामा रहेको छ । गाउँपालिका अध्यक्ष मणिराज राईले अस्पतालका लागि दिन लागेको जग्गा अनुगमन गरेर पास गर्ने प्रक्रिया अघि बढाउन सहजीकरण गर्नुभएको थियो ।  

उपयुक्त जग्गाको खोजीमा रहेको गाउँपालिकालाई जग्गादाताहरूले निःशुल्क दिएर स्वास्थ्य क्षेत्रको विकासमा योगदान गरेको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताउनुभयो । अब चाँडै सङ्घीय सरकारले दिएको अनुदानबाट अस्पताल निर्माणको प्रक्रिया सुरु हुने पनि उहाँले जानकारी दिनुभयो । 

गाउँपालिका केन्द्र प्राप्चा तोकिएपछि असन्तुष्ट रामपुरवासी अस्पताल बन्ने भएपछि भने उत्साहित बनेका छन् । सङ्घीय आयोगले केन्द्र प्राप्चा तोकेपछि गाउँपालिका केन्द्र रामपुरमै राख्न उनीहरुले आन्दोलन गर्दै आएका थिए ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया