नेकपा विभाजनको असर वडासम्म : ओखलढुङ्गामा दाहाल–नेपाल पक्षका धेरै

 पुस २७, २०७७ सोमबार २०:४३:२० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – केन्द्रमा देखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन वडा तहसम्म पुगेको छ । ओली र दाहाल–नेपाल दुवै समूह आफ्नो पक्षमा नेता, कार्यकर्ता पार्ने काममा दौडधुप गरिरहेका छन् । 

ओली पक्षले नयाँ जिल्ला समिति नै घोषणा गरेको छ । ओली समूहले पार्टी एकीकरणबाट साविक नेकपा (माओवादी केन्द्र) बाट चयन भएका अध्यक्ष मोहनकुमार खड्कालाई हटाएर केदारबाबु बस्नेतलाई अध्यक्ष बनाएको छ । जिल्ला सचिव मोहनकुमार श्रेष्ठलाई केन्द्रीय सदस्य मनोनित गरेर सचिवमा तीर्थ सुवेदीलाई तोकेको छ । 

एकीकरणबाट आएका सबै जिल्ला सदस्यलाई यथावत् राख्दै ओली समूहले दुई सय ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । नेकपाको पार्टी विधानको धारा २९ को ङ को १ मा भने जिल्ला कमिटी बढीमा एक सय ३५ जनासम्मको हुने व्यवस्था छ । 

त्यस्तै माधव–प्रचण्ड समूहले भने गाउँ–गाउँमा नेकपा विभाजनको असर तथा प्रतिनिधि सभा विघटनबारे प्रशिक्षण चलाएको छ । वडा तहसम्मै प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्न सङ्घर्ष समिति गठन थालेको छ । दुवै पक्षबीच विभाजन वडा तहसम्म पुगेपछि नेकपाको एकता चाहेका कार्यकर्ता भने अन्योलमा परेका छन् । 

को कसका पक्षमा ? 

ओखलढुङ्गा प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने नेतामध्ये नानीबाबु बुढाथोकी, अम्बीरबाबु गुरुङ, संविधान सभा सदस्य शकुन्तला राजभण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरेपछि ओलि समूहमा खुलेका छन् । हत्या आरोपमा १० वर्ष जेल बसेका माओवादी नेता बालकृष्ण ढुङ्गेल पनि ओली समूहमा लाग्नुभएको छ ।  

जिल्ला सचिव मोहनकुमार श्रेष्ठ पनि केन्द्रीय सदस्य हुनुभएको छ । त्यस्तै पार्टी एकतामा बनेको जिल्ला कमिटीका शंकर कट्वाल, कमल न्यौपाने, अशोक थापा, कृष्ण कार्की, केदारबाबु बस्नेतलगायत ओली समूहमा छन् । 

त्यस्तै माधव–प्रचण्ड समूहमा जिल्ला अध्यक्ष मोहन खड्का, संविधान सभा सदस्य हर्कबोल राई, प्रदेश कमिटी सदस्य बाबुराम गौतम, खड्ग योगी, चम्पा कार्की, निशान्त शर्मा छन् ।

कार्यालय सदस्यहरु नेत्र भट्टराई, गुणकुमार राई, जिल्ला कमिटीका साविक एक सय ३५ मध्ये ९० जनाभन्दा बढी सदस्य दाहाल–नेपाल समूहमा खुलेका छन् । 

जिल्लाका आठ पालिकामध्ये पाँच तहका कमिटीले प्रतिनिधि सभा विघटनको विरोधमा विज्ञप्ति निकाल्दै आन्दोलनमा जान आह्वान गरेका छन् । युवा सङ्घका इञ्चार्ज र अनेरास्ववियुका संयोजक ओली समूहमा लागेका छन् भने अन्य पदाधिकारी दाहाल–नेपाल समूहमा छन् । ओली पक्षले अनेरास्ववियुको जिल्ला कमिटी घोषणा गरिसकेको छ । साविक एमाले निकट विद्यार्थी नेताहरु यो समूहमा बढी देखिएका छन् । 

दुवै समूहले गएको पुस १४ र १९ गते शक्ति प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कमिटीमा सङ्गठित धेरै समूह दाहाल–नेपाल समूहमा देखिएको छ भने असङ्गठित तर समर्थक युवा तथा मतदाताहरूको साथ भने ओली पक्षमा देखिएको थियो ।  

जनप्रतिनिधिहरूमा पनि विभाजन देखिएको छ । नेकपाले जितेका चार पालिकामध्ये ओली समूहमा सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधि मात्रै खुलेका छन् । अन्य दुई पालिकाका जनप्रतिनिधि दाहाल–नेपाल पक्षमा खुलेका छन् । एक पालिकाका अध्यक्ष र उपाध्यक्ष भने मौन छन् । 

प्रदेश सभाका सांसद तथा जिल्ला अध्यक्ष मोहन खड्का, विघटित सङ्घीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार दाहाल–नेपाल र प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री अम्बीर गुरुङ ओली पक्षमा देखिनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया