केपीजी, निर्वाचन आयाेगलाई धम्क्याउन बन्द गर्नुस् : माधव नेपाल

 माघ २८, २०७७ बुधबार १८:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराउनुभएको छ ।  

बिहीवार काठमाण्डौमा आयोजित विरोध सभालाई सम्बोधन गर्दे उहाँले आयोगमा गएर म नै हो पहिलो अध्यक्ष भन्दै आयोगलाई अन्यथा निर्णय नगर्न धम्की दिएको प्रसङ्ग उल्लेख गर्दै त्यसो नगर्न सचेत गराउनुभएको हो । मन्त्रीहरूको अधिकार सबै खोसेर आफ्नो हातमा लिएको प्रधानमन्त्रीले त्यही हैसियतमा संवैधानिक र स्वतन्त्र आयोगहरूलाई थर्काउने काम गरेको भन्दै उहाँले त्यसो नगर्न खबरदारी गर्नुभयो । निर्वाचन आयोगलाई प्रधानमन्त्रीको दबाबमा नपरि विद्यमान कानुन र विधानअनुसार निर्णय गर्न पनि नेता नेपालले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आधिकारिताको विवादमा पस्न पाउँदैन भनिएको छ । कानुनमा एउटै पार्टीभित्र दलको नाम, निर्वाचन चिह्न र छापको बारेमा विवाद आयो भने बहुमतको निर्णयलाई हामी स्वीकार गर्छौँ भनेर निर्वाचन आयोगको कानुनमा लेखेको छ ।’ 

संवैधानिक निकाय निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले कुनै पनि हस्तक्षेप गर्न नपाउने भन्दै उहाँले ओलीको आदेश र फरमानलाई भन्दा नियम कानुनअनुसार निर्णयमा पुग्न सुझाउनुभयो । अन्यथा कानुनको कसैले पनि पालना नगर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीले आयोगले अगाडि बढाइसकेको काममा हस्तक्षेप गर्न थालेका छन् । खबरदार स्वतन्त्र निकाय निर्वाचन आयोगको काममा केपी ओली प्रधानमन्त्रीले कुनै हस्तक्षेप गर्न पाउँदैनन् । निर्वाचन आयोगले नियमावलिमा परिर्वतन गरेर पठाइसकेको छ । नछाप्नु भनी निर्देशन दिइएको छ । उनले तुरुन्त आदेश र फरमान फिर्ता लिऊन् र निर्वाचन आयोगको निर्णयको सम्मान गरून् । होइन भने यो देशमा कसैले पनि कानुनको पालना गर्ने छैनन् । कसैले पनि निर्वाचन आयोगको सम्मान गर्ने छैनन् । यो कुराको हेक्का होस् सबैलाई ।’ 

उहाँले आफुहरूलगायत नागरिक समाज स्वतन्त्र निर्णय गर्ने संवैधानिक निकायको पक्षमा रहेको भन्दै निर्धक्क भएर निर्णय गर्न आयोगलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जसलाई कम्युनिस्ट पार्टीको नाम मन पर्दैन । जसलाई लालसलाम शब्द मन पर्दैन । जसलाई पार्टीको क्रान्तिकारी अनुशासन मन पर्दैन । जसलाई पार्टीको बैठक भन्नेबित्तिकै रिँगटा लाग्छ । बैठक भन्यो कि केपी ओली फेन्ट हुने । त्यो मान्छे कम्युस्निट पार्टीको नेता हुन सक्छ ? त्यस्तो मान्छे कम्युनिस्ट पार्टीको नेता हुन सक्दैन । कहाँबाट देशको प्रधानमन्त्री भए ? मन्त्रीहरूको जम्मै अधिकार आफ्नो हातमा लिएका थिए । त्यही हैसियतले अहिले पनि निर्वाचन आयोगलाई थर्कमान गर्न खोजिरहेका छन् । खबरदार । हामी साथमा छौँ तपाईँहरूको । हामी जिउँदै छौँ । हामी यहीँ छौँ ।’ 

उहाँले प्रधानमन्त्री ओलीलाई बहुमतको शासन मान्न तयार भए निर्वाचन आयोगलाई धम्की दिन छाडेर आफ्ना पक्षकालाई मार्चपास गराएर टाउको गन्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘मार्चपास गराऔँ, चार सय ४१ जनामध्ये केपी ओलीको पक्षमा कति जना उभिन्छन् ? सय जना ? हाम्रो पक्षमा तीन सय जना ।’ 

पार्टीको विधानमा अध्यक्ष पहिलो नलेखेको भन्दै उहाँले ओली आफैले आफूलाई पहिलो भन्दै हिँडेको दाबी गर्नुभयो । नेता नेपालले भन्नुभयो, ‘पहिलो अध्यक्ष ओली गुटको होला । बालकोटको होला । तर नेकपाको पहिलो अध्यक्ष होइन । विधानमा लेखेको छ ? लेखेको छैन । निर्णयमा लेखिएको छ ? छैन । ‘मान नमान मै तेरा मेहमान’ । कसैले देओस् नदओस् ताज पहिरिएर हिँडेका छन् ।’ 

उहाँले चुनाव चिह्न सूर्य आफूहरूको भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग सूर्य चिह्न छ । केपी ओलीसँग त बयलगाडाको चिह्नबाहेक अरू केही पनि छैन ।’ 

नेता नेपालले पार्टीको सिद्धान्त, विचार सबै छाडेर प्रधानमन्त्री ओली आफ्नो पाप पखाल्न पशुपतिको शरणमा पुगेको व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, केपी ओली जी, तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुभएको छ । अब त्यो नाम पनि बिर्सिसक्नुभएको छ । अब पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ । तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ । जो मानिस राम्रो प्रवृत्तिको मान्छे छ । जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन् । चेतना भया । केपी ओलीलाई चेतना भया । संविधान मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, जनअधिकार कुल्चिनेहरूलाई ।’ 

केपी ओली नेतृत्वको सरकारको समयमा सात हजार एक सय ७० नेपाली चेलीहरू बलात्कृत भएको र उनीहरूको आत्माले ओलीलाई, ‘ए ओली तिमीले कति जनालाई सजाय दिएका छौ ? कति जना अपराधीलाई जेलमा कोचेका छौ ? तिम्रो असंवेदनशिलतालाई देख्दा हामीलाई लाज लागिरहेको छ’ भनिरहेको उल्लेख गर्नुभयो । आम नागरिकले केपी ओलीलाई धिक्कारी रहेको भन्दै नेता नेपालले प्रधानमन्त्री ओलीले गरेको पाप पशुपतिमा बत्ती बालेर धोइपखाली गर्न नसकिने बताउनुभयो ।   

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया