तत्काल सचिवालय बैठक डाक्न वामदेव गौतमको माग

 फागुन १२, २०७७ बुधबार १०:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टीको सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ ।

धुम्बाराहीमा रहेको केन्द्रीय कार्यलयमा तत्काल पार्टीको सचिवालय बैठक बोलाउन उहाँले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग माग गर्नुभएको हो । यस्तै उपाध्यक्ष गौतमले विज्ञप्ती निकालेर तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गर्नुभएको छ ।

यस्तै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने पनि बताउनुभएको छ । विज्ञप्तीमार्फत उहाँले सर्वोच्च अदालतको निर्णयले संविधानको संरक्षण गरेकोसमेत बताउनुभएको छ । 


प्रेस विज्ञप्ति :

संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको छ। यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो ।

प्रधानमंत्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो ।

यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु। यस अवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु :
१) सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्ति वाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ। 

२) प्रधानमन्त्री केपी वलीले प्रधानमंन्त्री पद वाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ। 

३) नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी वली र क. प्रचण्ड संग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के.कार्यालयमा वोलाउन अनुरोध गर्छु। 

वामदेव गौतम , उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१२।११।२०७७

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया