‘प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित छ’

 फागुन १२, २०७७ बुधबार २०:२१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताउनुभएको छ । 

बुधवार नेकपा प्रचण्ड–माधव समूहको अनौपचारिक संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीविरुद्ध गएकाे पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत् रहेको बताउनुभएको हो ।

संसद् सुरु भएपछि दलहरूका बीचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढ्ने नेता गुरुङकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘पुस ५ गते अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । त्यो प्रस्ताव जीवित रूपमा यथावत् रहेको छ । सदन सुरु भएपछि दलहरूका बीचमा आपसी सहमतिका आधारमा त्यो प्रक्रिया अघि बढ्ने कुरा हो ।’

सर्वोच्च अदालतको फैसलाअनुसार संसद्को अधिवेशन बोलाउनैपर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उहाँले बताउनुभयो । प्रमुख सचेतक गुरुङले बुधवारको अनौपचारिक बैठकमा संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेण्डाहरूमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको बताउनुभयो । 

सर्वोच्च अदालतले संविधान र संसद्को रक्षा गरेको भन्दै नेताहरूले एकआपसमा खुसी र बधाई साटासाट गरेको पनि उहाँले बताउनुभयो । संसदीय दलको अनौपचारिक बैठकमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा मन्तव्य राख्नुभएको थियो । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया