पहिलो मिर्गाैला प्रत्यारोपण

 फागुन १५, २०७७ शनिबार ९:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

राधिका शाक्य 
त्यतिबेलासम्म नेपालमा मिर्गाैला प्रत्यारोपण सुविधा थिएन । कानुनी घेरा पनि धेरै साँघुरो थियो । मिर्गाैला  बिग्रिसकेको कुरा थाहा भएपछि दाताको खोजीमा लागियो ।

अन्त्यमा केपीजीको भाइबुहारी अञ्जना घिमिरे ओली र मेरो बहिनी ज्वाइँ जनक कार्कीलाई मिर्गाैला दाताका रूपमा छानियो र मिर्गाैलाको आवश्यक परीक्षणहरू गराइयो । प्रशासनिक र कानुनी प्रक्रियाहरू पनि पूरा गरियो । अन्त्यमा मिर्गाैला प्रत्यारोपण गर्ने उद्देश्यका साथ १२ जुलाई २००७ मा हामी फेरि दिल्ली गयौँ ।

दिल्ली एयरपोर्टमा नेपाली दूतावासका डंगोलजी र शैलेश भट्टराईजी आएको हुनाले हामीलाई खासै समस्या भएन । प्रत्यारोपणका लागि त आइयो, तर बस्ने कहाँ ? थाहा छैन । हामीले बस्ने प्रबन्ध गर्नुपर्ने थियो । कसैले अस्पताल नजिक, सरिता विहारमा कोठा पाउँछ भनेको हुनाले एयरपोर्टबाट सिधै सरिता विहार गयौँ । तर त्यहाँको अस्तव्यस्तता देखेर म झण्डै बेहोस भइन । पुनः फर्केर अस्पताल आयौँ र घण्टौँ बस्यौँ । त्यसबेला वर्तमान सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी क्यान्सरको उपचार गराउने  क्रममा एपोलो अस्पतालमा हुनुहुन्थ्यो । थकाइले म चुर भएकी थिएँ । अन्त्यमा बल्ल रातको ११ बजे विद्यादेवी भण्डारीज्यूको नाममा बुकिङ भएको भवनको  कोठा नं १५ मा गएर म सुतेँ । 

यसअघि परीक्षणकै क्रममा दिल्लीमा रहेकाे नेपाली दूतावासको ‘गेस्टरुम’मा बस्दा देखाएको व्यवहार पनि बिर्सिनसक्नु खालको छ । अझ त्यतिबेला त उहाँ भर्खर परराष्ट्रमन्त्रीबाट हट्नुभएको मात्र थियो । त्यसैले हामीले दूतावासबाट कानुनी र प्रशासनिक सहयोगबाहेक अरु अपेक्षा पनि गरेका थिएनौँ । दिल्ली जाँदा नै मैले मनलाई सकेसम्म दह्रोसँग बाँधेर राख्ने कोशिस गर्ने संकल्प गरेर आएकी थिएँ । मलाई कसैले हेपेको, वास्ता नगरेको सहन गाह्रो पर्छ । मैले कसैलाई दुःख दिएको छु र बदलामा मलाई त्यस्तो व्यवहार हुन्छ भने स्वाभाविक हो । हिजो केही नखाइकन सुतेको हुनाले बिहानै भोक लाग्यो र त्यहीँको चमेनागृहमा गएर केही खाएँ । भोलिपल्ट दिउँसो अस्पताल जानुछ । त्यसपछिको रिपोर्ट अनुसार मात्र हाम्रो बसाइको टुङ्गो लाग्ला । साँझ केपीजी बाहिर निस्कनुभयो । म कोठामै बसेर जीवनचक्र बारे सोचिरहेँ । मलाई अनावश्यक रूपमा बाहिर जानुभन्दा कोठामै बसिरहनु राम्रो लाग्छ । 

रातको खाना खाएर बसेको केही समयपछि केपीजीलाई पेट दुख्न थाल्यो ।  रातको १० जति भएको थियो । करिब  दुई घन्टासम्ममा दुईवटा ट्याबलेट औषधि दिएँ । पेट दुख्न अलि ठिक भएपछि हनहनी ज्वरो आउन थाल्यो । परदेशमा के गरुँ के नगरुँ भयो । दूतावासमा फोन गर्ने कि ? मनोजलाई खबर गर्ने कि ? पार्टीका साथीहरूलाई फोन गर्ने कि ? निर्क्यौल गर्न पनि सकिएन । घडी हेर्दै रात बित्यो । बिहान एउटा सिटामोल खान दिएँ । हातखुट्टा र टाउकोमा पानीपट्टी दिने र थिच्ने काम निरन्तर गरिदिएँ । यत्तिकैमा चन्द्र घिमिरेजी आउनुभयो । उहाँलाई बाहिर औषधि किन्न पठाएँ । चन्द्रजीले औषधि ल्याएपछि खान दिएँ । यतिबेला नै आज दिउँसो १२ बजेको लागि लिइएको डाक्टरको ‘एपोइन्टमेन्ट’ दिउँसो दुई बजेका लागि सरेको खबर पाएँ । त्यसैअनुसार दिउँसो दुई बजे एपोलो अस्पताल पुगेँ । डाक्टर मिश्रले परीक्षण गर्ने र फर्महरू भर्ने काम गर्नुभयो । 

केपीजीको स्वास्थ्यस्थितिलाई ध्यानमा राखेर आजै अस्पताल भर्ना गर्ने र अरु परीक्षण गर्नेगरी कोठा नम्बर २५०७ मा लगियो । यसरी २ रातको बाङ्गा भवनको बसाइलाई छोडेर साँझ सबै सामान अस्पताल ल्याएँ । रातको खाना मगाउँदा ल्याइदिएन । त्यसले पहिलो दिनमै मलाई त्यहाँको व्यवस्थापनप्रति नकारात्मक प्रभाव पर्यो । तर केपीजीलाई ल्याइएको खानाले नै दुबैलाई पुग्यो र मैले भोकै सुत्नु परेन । खानु, पिउनु यस्तै हो, तर अस्पतालमा नै भएकोले म अलि ढुक्क नै भएँ । बिरामी कुरुवाको लागि पनि बस्ने व्यवस्था राम्रै थियो । पैसा भएमा सबै थोक हुने रहेछ । राति नेपालका साथीहरू विष्णुगोपाल श्रेष्ठ, रामेश्वर थापा, राजेश, टीकाले फोन गरेका थिए । यसरी आज म पहिलो पटक विदेशको प्राइभेट अस्पतालमा बस्न बाध्य भएकी थिएँ । भोलिपल्ट केपीजीको अल्ट्रसाउण्ड र रक्त परीक्षण गरियो । परीक्षण गर्दा उहाँको ‘क्रियाटिनिन’ ५.७आएको खबर सुनेँ । मिर्गाैला प्रत्यारोपणको लागि गठन भएको डाक्टरहरूको कमिटीको बैठक जुलाई २० मा मात्र बस्ने र त्यसपछि मात्र शल्यक्रियाको मिति तोक्ने खबर आएको थियो । 

हामी बसेको कोठाको सिसाको ढोकाबाट बाहिरका गतिविधिहरू हेर्न सकिन्छ । म आग्रा- मथुरा जाने बाटोमा मानिस र सामान बोक्ने रेलको आवत जावत हेरेर मन बहलाउने गर्दथेँ । बाहिर सडकमा मानिसहरूको ओहोरदोहोर छ । उनीहरूका मनमा पनि आ-आफ्नै समस्याको भारी होला । हरेकले आफ्नो जिन्दगीको भारी बोकेर हिँडेको छ । आखिर सबैले आफ्नो यात्रामा हिँड्नु नै छ । सबैलाई आफूले बोकेको भारी गह्रौं लाग्छ । मानिस बसोस् वा हिँडोस्, घरमा होओस् वा सडकमा, अस्पतालमा होओस् वा अन्यत्रै, उसको मन केही न केही कुरामा हिँडिरहेको हुन्छ, दौडिरहेको हुन्छ । जसरी बाहिर सडकमा देखिएका मानिसहरू दौडिरहेका छन्, त्यसरी नै सिसाले घेरिएको कोठामा बसेर मेरो मन केपीजीको स्वास्थ्य उपचारको विषयका नागबेली तर्कनाहरूमा दौडिरहेको छ । 

शल्यक्रिया जुलाई २० मा मात्र हुने भएपछि साँझ ५ बजेतिर केपीजीको डिस्चार्ज हुने भएछ । हामी अस्पतालमा दुई दिन बसिसकेका थियौँ । अब शल्यक्रिया नहुञ्जेलसम्म बस्नका लागि डेरा खोज्नुपर्ने भयो । डेरा खोज्न म जोडतोडका साथ लागेँ । प्रति महिना ३५ हजार देखि ५० हजार भारुसम्म पर्ने रहेछ । त्यति महँगो भाडा दर भए पनि चित्त बुझ्ने घर भेटिएनन् । अन्त्यमा, गुडगाउँमा एउटा भर्खर बनेको नयाँ घरको भुइँतल्लामा बस्ने निर्णय गरी भा.रु. २५ हजार एडभान्स दिएर भोलिपल्ट आउने वाचाका साथ म फर्किएँ र, अस्पतालबाट निस्केर फेरि उही बाङ्गा भवनमा गएर हामी एक रात बस्यौँ । 

१७ जुलाई २००७, तदनुसार वि. सं. २०६४ साउन  १ गते, नयाँ आर्थिक वर्ष सुरु हुने दिन, भारतको गुडगाउँमा रहेकाे एउटा घरको फ्ल्याट भाडामा लिएर हामी बस्न सुरु गर्यौँ । यो ठाउँ पायक पर्ने चाहिँ होइन । अस्पतालबाट पनि टाढा, दूतावासबाट पनि टाढा । प्रायः बिजुली गइरहने । साउन महिना, दिल्लीको बसाइ, बिना कुलर । मेरो हालत दयनीय भयो । समय र परिस्थितिले मानिसलाई कहाँ-कहाँ पुर्याउँदो रहेछ, आफू भोग्न मात्रै तयार भएर बस्नुपर्छ । समयसँग जे आउँछ, त्यसलाई भोग्नु नै जीवन हो, जीवनको अर्काे बनिबनाउ परिभाषा त कहाँ हुन्छ र ?

उता अस्पतालमा मिर्गाैलादाताबारे नाना थरीका कुराहरू चलेको रहेछ । त्यसैले काठमाण्डौमा जनक भाइलाई पनि मिर्गाैला दान गर्न मानसिक रूपमा तयार भएर बस्न खबर गरेँ । भोलिपल्ट बिहानै हामी व्यवस्थापनको चाँजो मिलाएर अस्पताल गयौँ । गाडी कुर्न कम्ती गाह्रो भएन । जेहोस्, घर भाडामा लिएपछि धेरै कुरामा ढुक्क भएजस्तो लाग्यो । यता मेरो सहयोगीको रूपमा अनिल बाबु आउनुभएकाले मैले भाँडा चाहिँ माझ्नु परेन । उहाँले नै मलाई सघाउनुभयो । 

आज २० जुलाई, शल्यक्रियाको लागि निर्णय गर्ने दिन भन्नासाथ मन यही दिनमा गएर अड्केको थियो । यो ज्यादै महत्त्वपूर्ण दिन हो । साँझ ५ बजे अस्पतालको हेयरिङ् कमिटीको बैठक बस्दैछ । डाक्टर अनन्तले आज पनि परिवारका सबैको रगत परीक्षण गर्नु भन्नुभयो । बिहानको खानापछि दिउँसो २ बजेतिर सबैजना अस्पताल पुग्यौँ । साँझ ६ बजेतिर अलिअलि भए पनि मुड फ्रेस गर्नुपर्यो भनेर अनिल मगरलाई लिएर म बाहिर निस्केँ । नयाँ दिल्लीमा पैदलयात्रीको लागि छुट्टै बाटो बनाइएको छ । यो बाटो आउने/जाने गर्दा लगभग एक घन्टा लाग्ने रहेछ । बाटोको दायाँबायाँ हरिया रुखहरू र रंगीचंगी फूलका पोथ्राहरू छन् । धेरैजसो बूढाबूढीहरू साँझको पैदल यात्राका लागि यहाँ निस्केको देखिन्छ । त्यस क्षेत्रमा त्यसबेला नयाँ नयाँ डिजाइनका राम्रा घरहरू पनि बन्दै थिए । 

२१ जुलाई, बिहानदेखि नै हामी डाक्टरको फोनको प्रतीक्षामा रह्यौँ । बल्ल दिउँसो ३ बजेतिर डा.अनन्तको फोन आयो । उहाँले बिरामीको डकुमेन्ट स्वीकृत भएको जानकारी दिनुभयो । उहाँकै भनाइ अनुसार अगाडिका प्रक्रियाहरू मिलाउन चार/पाँच दिन लाग्छ । उहाँले बताए अनुसार ३० जुलाईका दिन अपरेसन गर्ने कुरा भएको छ । यसरी शल्यक्रियाको मिति तोकिएको खबरले मनमा एक खालको निर्धक्कता पैदा भयो । अनि मैले काठमाण्डाै गएर शल्यक्रियाको एकदिन अगाडि पुनः दिल्ली फर्कने विचार गरेँ र त्यसैअनुसारको आवश्यक तयारीमा जुटेँ । 

आज २२ जुलाई, बिहानैदेखि सरसफाइ, लुगा धुने, आइरन गर्ने, साथीभाइसँग भेट्ने, घरबेटीसँग भेट्ने आदि काम सकेर हतारहतार अलिकति खाना खाएर काठमाण्डौका लागि एयरपोर्ट गएँ । मलाई एयरपोर्ट पुर्याउन चन्द्र घिमिरेजी आउनुभएको थियो । एयरपोर्टमा एक जना नेपाली महिला साथीसँग मेरो भेट भयो । उहाँ धरानकी मास्के प्रधान थरकी महिला हुनुहुँदो रहेछ । अहिले लगनखेल रिङ्रोडतिर बस्नुहुँदो रहेछ । एक्सनएडमा काम गर्ने उहाँ अफिसियल मिटिङकै सिलसिलामा इथोपिया पुगेर फर्कनुभएको रहेछ । उहाँको भनाइमा इथोपिया विश्वको एक नम्बरको गरिब देश भनिए पनि राजधानीको भौतिक पूर्वाधारको विकासमा नेपालको भन्दा धेरै अगाडि छ रे । उहाँसँग विकासका बारे हवाईयात्रामा धेरै कुरा भए । जहाजभित्र अरु धेरै भारतीयहरू नै थिए । कोही त मानसरोवर जान भनेर पहिलो पटक नेपाल आएका रहेछन् । उनीहरू कुरा गर्दै थिए कि नेपालको बजारमा कुन मुद्रा चल्छ, भारु. चल्छ कि चल्दैन, नेपालको मौसम सिम्लाको जस्तै त होला आदि । अक्सर उनीहरूका कुरा यसै सेरोफेरोमा चलिरहेको सुनिन्थ्यो । 

हावापानीको हिसाबले त काठमाण्डौ स्वर्ग नै हो । त्यसमाथि हाम्रो घर गाउँमा भएको हुनाले उत्तिकै रमाइलो छ । दिल्लीको गञ्जागोल बसाइबाट घर आएपछि ज्यादै हल्का महशुस गरेँ ।  उता बिरामी छोडेर आएको चिन्ता त छँदैछ । काठमाण्डाै आएर पनि खास उल्लेखनीय काम केही गर्न सकिएन । धेरै समय त फोन सम्पर्कमै बित्यो । यसरी काठमाण्डाैमा दुई/चार दिन बसेर फेरि २८ जुलाईको दिन म दिल्ली उड्नका लागि दिउँसो दुई बजे एयरपोर्ट पुगेँ । त्यसबखत काठमाण्डाैमा लगातार झरी परिरहेको थियो । झरीले गर्दा धेरैजसो फ्लाइट डिले भइरहेका थिए । यत्तिकैमा दिल्लीबाट आएको जेट एयर काठमाडौको कमजोर ‘भिजिबिलिटी’का कारण लखनउतिर मोडिएको खबर आयो । यस परिस्थितिले मलाई झन् बढी तनाब भयो । तर धन्य हामी चढ्ने सहाराको जहाज अवतरण गर्न सफल भयो । यति नै बेला जेट एयरको उडान रद्द भएको सूचना आयो । तर सहाराको जहाज अवतरण भइसकेको हुनाले ढिलै भए पनि उड्ला भन्ने आशमा म बसिरहेँ । दुई घन्टा ढिला गरेर साँझ ६ बजे जहाज उड्यो । 

नेपालको पहाडी भूबनोट र खराब मौसमले गर्दा मनमा डर पनि छ । अन्त्यमा साँझ साढे सात बजे दिल्लीमा जहाजबाट ओर्लेर प्रि-पेड ट्याक्सीलाई भा.रु. ३५० तिरेर म सरासर एपोलो अस्पताल गएँ । मेरो साथमा इन्द्र भण्डारी र जनक कार्की थिए । २८ जुलाईको दिन केपीजी अस्पताल भर्ना भएको खबर पाएर नै हामी एयरपोर्टबाट सिधै अस्पताल गएका थियौँ । उहाँको कोठा नम्बर २६०७ थियो । मिर्गाैलादाता उहाँकी भाइबुहारी अञ्जना ओलीलाई त्यहीँ राखेको रहेछ । एक छिनपछि सबैलाई गुडगाउँतिर पठाएर म चाहिँ कोठाकै सोफामा सुतेँ । 

२९ जुलाईको बिहान, सबै अस्पताल आए र रगत दान गरेर फर्के । आज आइतवार बिदाको दिन भएकाले मनोज र प्रतिभा पनि अस्पताल आएका थिए । बिहानै नेपालबाट आएका आर्मीका राजु नेपाली र उहाँको श्रीमती पनि भेट्न आउनुभयो । उहाँ श्रीमतीलाई पाठेघरको क्यान्सर भएर तीन महिना एपोलो बसेर जानुभएको र अहिले फेरि फलोअपका लागि आउनुभएको रहेछ । 

३० जुलाई २००७, तदनुसार २०६४ साउन १४ गते सोमवारको दिन । यो दिन, मेरो जिन्दगीको एक ठूलो मोड र चुनौतीको दिन हो । मेरो श्रीमान् केपी शर्मा ओलीजीको मिर्गाैला प्रत्यारोपण गर्ने दिन । तयारीको क्रममा हिजै पनि बिहान र राति गरी उहाँलाई दुई पटक बेटाडिन पानीले नुहाउन लगाइएको थियो । राति १२ बजेपछि केही खान नदिनु भनेको छ । बिहान ८ बजे तयारी गरेर अपरेसन थिएटर लाने भनेको हुनाले बिहान चाँडै उठियो । बिहानै आएर साढे ६ बजे सम्ममा थिएटर जानुपर्छ भनेर हतारहतार तयारी गरियो । नुहाएको शरीरमा सबैतिर पुनः बेटाडिन दलियो र ह्वील चियरमा राखेर तल अपरेसन थियटरमा लगियो।

अपरेसन थिएटर लगेको त्यो एक क्षण मेरो अगाडि सिङ्गो जिन्दगीको चित्र एकैपटक आएझैँ भयो । बेचैनी यति बढ्दो रहेछ, मन थाम्नै सकिन । जब अभिव्यक्तिहरू बाहिर निस्कन सक्दैनन्, आँशु नै अभिव्यक्ति बनेर निस्कने रहेछ । बोल्ने कुनै वाक्य मसँग थिएनन् । सायद, ती आँशुमा बदलिएर बगिरहेका थिए । मेरा आँशु देखेर केपीजी मलाई सम्झाउन थाल्नुभयो । उहाँले ‘म त निको हुन पो जान लागेको, किन रोएकी’ भन्नुभयो । उहाँको त्यति वचनको सहारामा मैले मन बलियो बनाएँ । मनलाई सम्झाएँ, बुझाएँ, दह्रो बनाएँ । ‘तपाईँले कुनै चिन्ता नगर्नु, राम्रो हुन्छ’ भनेर केपीजीलाई आफ्नो अगाडिबाट बिदा गरेँ ।

केपीजीलाई अपरेसन थिएटरमा लगेपछि हरेक पल-प्रतिपल मेरो बेचैनी बढ्दै गयो । समयको मापो त उही हो । उस्तैगरी समय अघि बढ्छ । हाम्रा सुख-दुःखका अनुभूतिसँग समयको के लेनादेना ? तर, उही र उस्तै समयको दूरी व्यथित मानसिक अवस्थामा कति हो कति लामो बनिदिँदो रहेछ । एक क्षण बिताउनु युग/युग बिताउनु जस्तो । त्यसपछिका एक/एक क्षण बिताउन मलाई सकस भयो । 

यसरी व्यथित भएर छटपटाउँदै समय बिताइरहेका बेला हामी बसेको कोठा खाली गर्नु भन्ने खबर आयो । कोठाका निजी सामानहरूसबै कोठा बाहिर राखेँ र अपरेसन थिएटरबाट आउने सूचनाको लागि प्रतीक्षालयमा गएर बसेँ । अरु साथीभाइ आउने जाने गरिरहनुभएको थियो । दिउँसो मनोज ओली आइपुग्यो, उसलाई भनेर एक कप कागती पानी र एउटा सानो पिज्जा मगाएर खाएँ । त्यहाँका कर्मचारीले अपरेसनपछि होस खुलेका सबै बिरामीका कुरुवाहरू बोलाउँदै र जानकारी दिँदै जान्थे । तर आफ्नो मान्छेको बारेमा भने केही खबर आउँदैन । यस्तो बेला निकै हतासाले सताउँदो रहेछ । तर, धैर्य गर्नु र पर्खनुको अरु के विकल्प थियो र ? म छटपटिँदै बसिरहेँ । 

बल्ल दिउँसो साढे तीन बजेतिर डा. अनन्त आफैँ हरियो लुगामै बाहिर आउनुभयो । डाक्टर अनन्तकुमार ढोकाबाट बाहिर निस्केको त्यस क्षण मैले सम्पूर्ण सामर्थ्यलाई बटुलेर आफ्नो जिन्दगीको फैसला सुन्न आफूलाई तयारी अवस्थामा राखेँ । डाक्टर अनन्तकुमारको स्वाभाविक र सहज प्रस्तुतिले मलाई तत्काल राहत मिल्यो । उहाँले मलाई भेटेर ‘आत्तिनु पर्दैन, अपरेसन सफल भएको छ, ‘रिकोभरी’पछि ‘ट्रान्स्प्लान्ट आईसीयू’मा लगिनेछ’ भन्नुभयो । उहाँको यति सन्देश सुनिनसक्दै मेरो शरीरमा सबैतिर रक्तसञ्चार भएजस्तो साहस पैदा भयो । मन पनि हलुका भयो । 

त्यसपछि धेरै समयसम्म अरु थप जानकारी केही आएन । अन्त्यमा हामीले नै सोधी-खोजी गर्दा माथि आईसीयूमा लगिसकाले त्यहीँ गएर भेट्नु भन्यो । त्यसपछि हामी माथि गयौँ । यता अपरेसन चलिरहेकै बेला डा. शेखर कोइराला र थप एकजना नेपाली साथीहरू अस्पतालमै आउनुभएको थियो । डा. रेणु राजभण्डारी, माधव नेपाल, विष्णु पौडेल, भानुभक्त ढकाल, तारा ढकाल, विनोद ढकाल, दिनेश भट्टराई आदिले फोन गरेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी माग्नुभएको थियो । 

उहाँलाई राखिएको आईसीयू रुममा भेट्न म माथि गएँ । ट्रान्स्प्लान्ट आईसीयू रुमको बाहिरबाट नै उहाँलाई देखेपछि मैले आँशु थाम्नै सकिन । मेरो आँशु र अवस्था देखेर एक जना सिस्टर नजिकै आइन् र भनिन्- ‘किन रुनुहुन्छ ?उहाँलाई राम्रो भएको छ । हेर्नुस् पिसाब राम्ररी भइराखेको छ ।’ त्यसपछि मैले बुझेँ कि पिसाब हुनु राम्रो रहेछ । मुखमा अक्सिजनको मास्क थियो । उहाँलाई सधैँ उज्यालो र हँसिलो अनुहारमा मात्र देखिरहेको, यतिबेला भने गलेको, फुलेको, अनुहार देख्दा म बोल्नै सकिन । मेरो मुखबाट एउटै पनि शब्द निस्केन, अवाक भएँ । मसँगै डाक्टर कैलाश भण्डारी (मदन भण्डारीका भाइ) साथै हुनुहुन्थ्यो । अन्त्यमा डा.कैलाश भण्डारीलाई त्यहीँ छोडेर घर जान्छु भनेँ ।

त्यसपछि शारीरिक र मानसिक रूपले थकित शरीर लिएर म गुडगाउँ फर्केँ । खाना खान मन लागेन । केपीजीको त्यही गलेको, फुलेको अनुहार मात्र झलझली अगाडि आइरह्यो । उहाँलाई कति भोक लागेको होला, मनमा के के कुरा खेलिरहेका होलान्, के सोचिरहनु भएको होला आदिआदि कुरा मनमा आइरहे । खाना खान मात्र होइन, त्यसराति मलाई निद्रा लागेन । बिहान तीन बजेतिर यसो झकाएकी थिएँ । मेरो नाम लिएर बोलाएको आवाजले ब्युँझायो । त्यसपछि झन् निदाउन सकिन । मनमा अनेकौँ तरङ्ग उठ्यो । उहाँलाई गाह्रो भयो कि भन्ने शङ्का लाग्यो । यसरी पूरा रात नै अनिदो बिताएँ । बिहान चाँडै खाना खाएर अस्पताल गएँ । तर, भेट्ने समय साँझको चार बजेपछि मात्र हुन्छ भनेर भेट्न दिएन । एकचोटि त भेट्न दिन्छ कि भन्ने आशा गर्दै ढोका छेउसम्म पुगेर एउटी नर्ससँग सोधेँ । तर उसले सबै राम्रो छ भेट्न चार बजे मात्र आउनु भनेपछि भारी मन लिएर फर्केँ । 

यस बीचमा मैले इन्द्र, जनक, राजु नेपाली उहाँकी श्रीमती, अनि कुलबहादुर र श्रीमतीसमेत हुनुपर्छ, उहाँहरूसँग भेटघाट गरेँ । उहाँहरूसबै केपीजीलाई नै हेर्न आउनुभएको थियो । उता अस्पतालको पाँचौँ तल्लामा अहिलेका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपचार चलिरहेको थियो । तीन बजेतिर म त्यहाँ गएँ । उहाँसँग एक घन्टाजति राजनीतिक गफ चल्यो । भण्डारीजी बिरामी भए पनि स्वर अलिकति पनि गलेको थिएन ।

त्यत्तिकैमा साँझ चार बज्यो । म आईसीयू कक्षको अगाडि गएर उभिएँ । एक छिनमा मलाई बोलायो र भित्र गएँ । उहाँ थकित देखिनुहुन्छ । एक छिन कुराकानी गरेँ । घाउ साह्रै दुखिरहेको छ भन्नुभयो । हिजो साँझ अलिकति पानी र जुस मुखबाट खान दियो भन्नुभयो । स्वास्थ्यलाभको कामना गरेर नेपालबाट आएका फोनहरूको जानकारी गराएँ र बाहिर आएँ । यसपछि क्रमशः जनक र इन्द्रले भेट गरे । 

अस्पतालबाट डेरा फर्किने क्रममा म दिल्लीको अक्षरधाम मन्दिर गएँ । मन्दिरभित्र जान मोबाइल ब्याग आदि बाहिरै राख्नुपर्ने झन्झटले गर्दा भित्र गइन । तर भित्र धेरै राम्रो छ भन्ने कुरा सुनेँ । यता डेरामा साथीहरूसँग एमालेका जिल्ला नेताहरूको आर्थिक अवस्था कमजोर भएको र त्यो समस्या कसरी समाधान गर्नेबारे छलफल चल्यो । साउन १६ गते  म अस्पताल गइन । घरमा थुप्रिएका कामहरू गरेँ । काठमाण्डाैबाट फोन गरेर सोध्ने सबैलाई उहाँको अवस्था जानकारी गराएँ । अस्पतालमा आज उहाँलाई अलिकति हिँड्न लगायो भन्ने खबर सुनेँ । यस्तो खबरले मलाई बिस्तारै ढाडस दिँदै लग्यो । 

रातिदेखि ठूलो पानी परेको हुनाले आज बिहान दिल्लीको मौसम सफा छ । आज साउन १७ गतेको बिहानदेखि मेरो घाँटी दुखिरहेको छ । नुहाएँ, नुनपानीले कुल्ला गरेँ र अस्पताल जान निस्किएँ । तर ठूलो पानी परेपछि दिल्लीको ट्राफिक जाम अति नै हुँदो रहेछ । मलाई अस्पताल पुग्न सवा दुई घन्टा लाग्यो । म सरासर केपीजीको कोठातिर लागेँ । ढोकामै डा. मिश्रसँग भेट भयो । उहाँले मलाई सम्झनुभएको रहेछ । देख्नासाथ म्याडम के छ खबर भनेर सोध्नुभयो । भित्र जान्छु त केपीजी कोठाबाहिर मेचमा बस्नु भएको रहेछ । उभिएरै एक छिन कुरा गरेँ । आजदेखि नर्मल खाना दिएको रहेछ । चिरेको घाउ पनि आज हेरेँ । लामो चिरेको रहेछ । गर्धनमा पनि काटिएको रहेछ । कोठाभित्र पस्न मनाही छ भनेर पस्न दिएन । अनि फर्केर फेरि विद्यादेवी भण्डारीजीको कोठामा गएँ । जवहारलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरू र पत्रकार गोपाल खनाल पनि रहेछन् । 

उता केपीजीलाई मिर्गाैला दिने अञ्जनालाई पनि आईसीयूबाट नसारेको हुनाले भेट्न जान पाइएन । उनको पत्थरीको पनि अपरेसन भएको थियो । १८ साउनमा केपीजीले मोबाइल चलाउन माग गर्नुभयो । त्यसपछि मलाई तनाव भयो । अनावश्यक रूपमा फोन चलाएर आफ्नो स्वास्थ्य बिगार्नुहुने भयो भन्ने चिन्ता लाग्यो । यस्ता कुरामा उहाँको जिद्दीपनबाट म राम्ररी परिचित छु । उहाँलाई मोबाइल चलाउनबाट कसरी रोक्ने भन्ने कुरा मेरो मनमा खेल्न थाल्यो । केही समय रोक्न सफल भए पनि यस्ता कुराबाट उहाँलाई कहिल्यै बदल्न सकिएन । 

यता मेरो रुघाले उग्र रूप लिइरहेको छ । अबको दुईचार दिनमा उहाँलाई डिस्चार्ज गर्छ होला । तर बिरामी राखेर बस्न मिल्ने ठाउँको समस्याले मलाई पिरोलिरहेको छ । त्यसका लागि हालको डेरा अस्पतालबाट टाढा छ भने त्यहाँ बिरामीका लागि आवश्यक सुविधा पनि छैन । 

आफूलाई सञ्चो नहुँदा नहुँदै पनि साउन १९ र २० गते दुई दिन उपयुक्त खालको घर पाइन्छ कि भनेर धेरै ठाउँहरू घुमेँ । दिल्लीको पूर्वी भाग यमुनापारी लक्ष्मीनगरमा मनोज र प्रतिभालाई भेट्न गएँ । त्यहाँ विराटनगरबाट छोरीज्वाइँ भेटन आएका प्रतिभाका आमाबासँग भेट भयो । उनीहरूको बसाइ पनि राम्रो लागेन मलाई । वास्तवमा यहाँका घरको डिजाइननै राम्रो लाग्दैन । त्यसपछि गगनविहारको घर नं. ७७ हेर्न गएँ । यो घर ठिकै लागे पनि धेरै समयदेखि प्रयोग नभएकोले ज्यादै फोहर लाग्यो । मनोजको घरको कुलरको आवाज र गगनबिहारको घरको फोहरले मलाई ज्यादै सताइसकेको थियो । तैपनि पटेलनगरमा अर्को घर हेर्न गएँ । यो घर ठिकै लागे पनि फर्निचरविहीन भएकोले उपयुक्त भएन । त्यसपछि हामी कीर्तिनगर आयौँ र साथीहरूलाई यहाँ छोडेर म गुडगाउँ फर्कें । 

गुडगाउँ फर्केपछि त्यो रात ज्वरोले म इन्तु न चिन्तु भएँ । सिटामोल खाएपछि पसिना पनि बेस्सरी आयो । त्यो जिन्दगीमा बिर्सन नसक्ने रात भयो । बिहान उठ्दा अलि हल्का भएको जस्तो लाग्यो । बिहानै डाक्टर कैलाशले फोन गर्नुभयो । उहाँलाई मेरो अवस्थाको जानकारी दिएँ । अनि डा. कैलाशले युवराज बास्कोटा भाइलाई फोन गरेर औषधिसहित पठाउनुभयो । खाना खाएपछि युवराज र म मालविय नगरमा बस्ने राजेन्द्र श्रेष्ठजीलाई भेट्न गयौँ । उहाँ मेरो भाइबुहारीको दाजु पनि हो । धेरै भएको रहेछ उहाँको दिल्ली बसाइँ । उहाँको  फ्ल्याटमा पुग्न हामीलाई धेरै गाह्रो भएको थियो । उहाँले आफ्नो फ्ल्याट नजिकैको गेस्टहाउस पनि देखाउन लानुभयो । तर, खाना बनाउने ठाउँ नभएकोले यो ठाउँ पनि हामीलाई उपयुक्त भएन । त्यहाँबाट फर्किने क्रममा सिरुटार निवासी आर्मीका पठनबहादुर कार्कीको निवास भएको ठाउँ आनन्द निकेतन पनि गएँ । यसरी बिरामी हुँदाहुँदै पनि चारैतिर धाएर कोठा खोजेँ, तर सफल भइन । 

त्यसपछि साउन २१,२२ र २३ गते केही नगरी कोठामै बसेँ । मनमा अनेकौँ कुरा खेल्छ । पीडा, हण्डर र ठक्करहरूले आत्मविश्वासबाट भरोसा गुमाउँछ कि कुन्नी । नत्र म कहिल्यै आफूलाई अभागी ठान्दिनथेँ । अहिले मनमा अनेक कुरा खेल्दा कहिलेकाहीँ सोच्छु, म अभागी रहेछु कि ? सबै काम कुरो छोडेर बिरामी श्रीमानकाे उपचार गर्न काठमाण्डाैबाट दिल्ली आएँ । यहाँ आफैँ बिरामी परेर लखतरान भएर बस्न बाध्य भएँ । सायद, साउन २३ गते होला केपीले मलाई फोन गरेर काठमाण्डाै जानु भन्नुभयो । उहाँलाई आईसीयूबाट जनरल वार्डमा सार्ने कुरा चलेको रहेछ । त्यसैले उहाँले मलाई काठमाण्डौ जानु भन्नु भएको रहेछ । तर उहाँको क्रिएटिनिन अहिले झरेर १.३ मा आएको छ रे भनेर सारिएन छ  । बरु उहाँको मिर्गाैला दाता अञ्जना डिस्चार्ज भएर गुडगाउँ आइन् । २४ साउनको दिन केही साथीहरूको साथ लगाएर उनलाई काठमाण्डौ पठाएँ । एयरपोर्टमा समस्या नहोस् भनेर भित्रसम्म जाने पास भएको व्यक्तिको साथमा एयरपोर्ट पठाइदिएँ । यता काठमाडौमा पनि रिसिभ गर्ने, खाने,बस्ने पैसा दिने सबै व्यवस्था मिलाइ दिएकी थिएँ । 

गुडगाउँमा बस्न अप्ठेरो भएकोले नेपाली दूतावासमा बसौँ कि भनेर कुरा चलेपछि मैले दूतावास गएर सबै ठाउँहरू हेरेँ । तर निर्णय गर्न सकिन । आठ नौ दिनपछि शुक्रवार म अस्पताल गएँ र बीचमा घरहरू हेरेको दूतावास पनि हेरेको, सबै कुरा केपीजीलाई बताएर पुनः गुडगाउँ फर्कें । भोलिपल्ट अगस्ट १२ तारिख शनिवार नै उहाँको डिस्चार्ज भयो । म उहाँलाई लिएर सिधै दूतावास आएँ । दूतावासमा केही कर्मचारी र केही पार्टीका साथीहरूसँग बसेर चिया खायाैँ । तर बन्द कोठा, कार्पेट आदिको गन्धले गर्दा केपीजी त्यहाँ बस्न मान्नु भएन र फेरि उही गुडगाउँ नै फर्कनु पर्यो । यसरी २८ जुलाई शनिवार अस्पताल भर्ना भएर ३० जुलाई सोमबार मिर्गाैला प्रत्यारोपण गरेर दुई हप्ता अस्पताल बसाइपछि अगस्ट १२ तारिख शनिवार उहाँ डिस्चार्ज हुनुभयो । 

आइतबार साँझ, मनोजका सासु-ससुरा र काठमाडौबाट प्रदीप ज्ञवालीजी र पत्रकार राजेन्द्र अर्यालजी भेट्न आउनुभयो । उहाँहरूसँग कुराकानी र सानो अन्तर्वार्ता पनि रेकर्ड गरियो । प्रदिपजीसँग दिल्लीको सिमकार्ड नभएकोले मैले आफ्नो सिम दिएँ । प्रदीप ज्ञवालीजीमार्फत् भदौ १० गतेसम्मका लागि बिदाको निवेदन मेरो अफिस राष्ट्र बैंकलाई लेखेर पठाइदिएँ । साउन २४ मा डिस्चार्ज भएर आएपछि २८ गते बिहानै केपीजी अस्पताल पुग्नुभयो । साँझ ५ बजे रिपोर्ट सहित डा. अनन्तलाई भेट्नु थियो । त्यसैले गुडगाउँसम्म नफर्किनु बरु ‘डे केयर रुम’ लिएर अस्पतालमै बस्नु भनेर मैले उहाँलाई अस्पताल पठाएकी थिएँ । तर उहाँ त्यस्तो रुम १२ बजेपछि मात्र पाइने रहेछ भन्दै गुडगाउँ नै फर्किनुभयो । अनि खाना खाएर एक छिन आराम गरी साढे १२ बजे फेरि अस्पताल जानुभयो । अगस्ट २० तारिख सोमबार उहाँको अपरेसन भएको ३ साता भएको थियो । 

गएको शनिवार साँझ १८ अगस्टदेखि नै गुडगाउँ छोडेर नेपाली दूतावासमा आएर बसेँ । गुडगाउँमै हुँदा विष्णु पौडेल, छविलाल विश्वकर्मा, (तत्कालीन कृषिमन्त्री) वामदेव गौतम, तुलसा गौतम, आदि साथीहरू आउनुभएको थियो । नेपालको दूतावास दिल्लीको प्राइम ठाउँमा अवस्थित छ । सन् १९३४ मा अहिलेको यो दूतावास बनेको रहेछ । सानो दरबार जस्तो नै छ । थुप्रै कोठाहरू, भान्सा घरहरू, बाथरुमहरू छन् । तर सरसफाइलगायत मर्मत-सम्भार भने छैन  । बरु त्यहाँ आउने पाहुनाहरूसँग केही पैसा लिएर भएपनि सरसफाइ गराइराखेको भए राम्रो हुन्थ्यो भन्ने मनमा लाग्यो । उता अफिसर क्वाटर भनेर चार वटा फ्ल्याट छन् । ननअफिसर क्वाटर भनेर ६ वटा फ्ल्याट छन् । साथै लोकल स्टाफ क्वाटर पनि छन् । भित्र कस्तो छ कुन्नी ? बाहिरबाट  हेर्दा राम्रो छैन । अर्कोतिर एउटा ठूलो र नयाँ भवन छ । त्यो अफिस भवन रहेछ । यहाँ काठमाण्डाै बाट आउने १५ जना र अन्य ३५ जना गरी जम्मा ५० जना कर्मचारीहरू कार्यरत थिए । 

दूतावासमा आएर बसेपछि अन्य सुविधा भए पनि भेटघाटको चाप भने बढी नै भयो । धेरै नेपालीहरूको दिल्ली आउने जाने क्रम चलिरहेको हुन्छ । उपचारको लागि, व्यापारको लागि, सेमिनार, गोष्ठीको लागि अनि तेस्रो देश जाने र आउने क्रममा ट्रान्जिट पनि दिल्ली नै हुन्छ । त्यसैले पनि भेटघाटको चाप बढी भएको हो । तर, मलाई भने ठूलो बोझ छ, बिरामीको हेरचाह, खानपिन, सरसफाइ । त्यसमाथि पाहुनाहरूको लागि चिया, खाना आदिको व्यवस्थापन गर्नुपर्ने । यस्तैमा २६ अगस्टको दिन बिहान १० बजे दिनुपर्ने मुख्य औषधि बिर्सेर १०ः४५ मा मात्र दिन पाएँ । यसले मलाई ठूलो ग्लानी भयो । यहाँ त यसरी बिर्सिन्छ भने काठमाण्डाै गएपछि के हुने होला ? म ज्यादै चिन्तित भएँ । डर पनि लाग्यो । 

दूतावास बसाइको क्रममा मैले एउटा हिन्दी भाषाको किताब पढेँ । ‘एक गधा कि वापसी’ त्यो किताबको नाम थियो । यस पुस्तकमा वर्तमान स्वार्थी र अवसरवादी समाजको राम्रो चित्रण गरिएको रहेछ । मान्छेको जातले आफ्नो फाइदाका लागि गधासँग पनि माया प्रीतिको नाटक गर्छ र उसको पाउमा ढोग्न पनि बाँकी राख्दैन भन्ने यसको सन्देश छ । मान्छेको जात ज्यादै स्वार्थी, लोभी, पापी, लालची, अवसरवादी, अन्धविश्वासी हुँदो रहेछ भन्ने कुरा यस पुस्तकमा छर्लङ्ग देखाइएको छ । जेहोस्, यो पुस्तक मलाई ज्यादै रोचक र ज्ञानवर्द्धक लाग्यो । 

भदौ १५ गते शनिवार बिहानदेखि नै मेरो मनस्थिति ठिक छैन । म दिल्लीमा छु, यता पाटनका केटाकेटीहरू, बूढाबूढीहरूको यादले सताइरहेको छ । म यहाँ एक्लो र सहाराविहीन छु । हिजो मेरो जन्मदिन पनि रहेछ। बिहानै राजेशले फोन गरेर घरका सबैको तर्फबाट जन्मदिनको शुभकामना दिएको थियो । गएको साल पहिलो पटक जन्मदिन राम्ररी मनाएको थिएँ । यहाँ मेरो कामको बोझ अति नै छ । यसरी आफ्नो स्वास्थ्यको रत्तिभर पर्वाह नराखी सधैँ श्रीमान्, उहाँका आफन्त र साथीभाइको लागि मात्र खटिरहनु राम्रो गरेँ कि नराम्रो ? मेरो मनले यो प्रश्नको सकारात्मक जवाफ दियो, तैँले गर्नुपर्ने नै यही हो । भोलि म थला परेमा के होला ? त्यो भोलिको नै कुरा हो । 

यसरी बसिरहेकै बेलामा केपीजी अस्पतालबाट फर्किनुभयो । रिपोर्ट कस्तो छ भनेर सोध्दा सन्तोषजनक नभएको थाहा भयो । अब सोमवारको रगत परीक्षणमा पनि राम्रो नतिजा आएन भने किड्नीको वायोप्सी गरेर हेर्छु भन्नुभयो डाक्टरले । यस स्थितिले मलाई झन् गम्भीर बनायो र ज्यादै छटपटी भयो । यहीँ बसिराखौँ, कामको गह्रौँ बोझ । काठमाण्डाै फर्कौं भने यस्तो अवस्थामा कसरी छोडेर जानु ? ज्यादै दिक्क लाग्यो । मैले पाटनमा फोन गरेँ । तर, बहिनीहरू कोही रहेनछन् घरमा । आमालाई यस्तो कुरा कसरी सुनाउनु ? वास्तवमा आज मलाई केही गर्ने जाँगर छैन । जाँगर नभए पनि साँझ कतिजनालाई खाना बनाउन बाध्य हुन्छु थाहा छैन । त्यसमाथि आफ्नै स्वास्थ्य पनि ठिक छैन । दिनको ५/६ पल्ट बाथरुम जानुपर्छ । खुट्टाको नङ, घुँडालगायत धेरै ठाउँहरू दुखिरहेको छ ।  तर खोइ ? कोसँग भनुँ, कसलाई सुनाउँ । 

भदौ १६ गते बिहानै मेरी बहिनी जयश्रीले आज कान्छी छोरी जेनिसाको जन्मदिन भनेर फोन गरिन् । अनि छोरी जेनिसाले त ममी छिट्टै फर्किनुस् न है भनिन् । अनि त मलाई के चाहियो ? आँशु थाम्नै सकिएन, गला अवरुद्ध भयो । आज भन्दा तीन वर्ष अघि २०६१ भदौ १६ गते काठमाण्डाै मा विध्वंश मच्चिएको थियो । आज २०६४ भदौ १६ मा पनि काठमाण्डाै को विभिन्न ठाउँमा बम विस्फोट भएको दुई/तीन जनाको मृत्यु भएको कुरा पनि सुनेँ । यसरी मेरो परिवारका सदस्यहरू जन्मदिनको खुसियाली मनाइरहेको बेला म भने एक्लै आँशु लुकाएर रोएर बसेकी छु । वास्तवमा म असहाय भएको महशुस गर्दैछु । अब पनि दुई/चार दिन यहाँ बस्ने हो भने आफैँ थला पर्छु भन्ने लागिरहेको थियो । केपीजीले अस्पतालको आईसीयूबाट जनरल वार्डमा सार्ने बित्तिकै मलाई काठमाण्डौ जाउँ भनिरहनु भएको थियो । भदौ १८ गते म दिल्लीबाट काठमाण्डाै आएँ । पछि भदौ २७ गते करिब डेढ महिनाको भारत बसाइपछि केपीजी पनि काठमाण्डाै फर्किनुभयो । 

(प्रधानमन्त्री पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूति’बाट)

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया