‘सरकार र विप्लव समूहले वार्ता गर्ने विषयलाई प्रचारबाजीका रूपमा प्रयाेग नगरून्’

 फागुन १८, २०७७ मंगलबार १९:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दलको प्रचण्ड–माधव समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीका रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । 

विप्लव समूहसँग वार्ता गर्न गृह मन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेसँगै संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरूले सरकार र विप्लव दुवै पक्षलाई प्रचारबाजी र नागरिककाे भावनासँग खेल्ने काम नगर्न सचेत गराएका हुन् । चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्ने सरकारको कदमलाई नेपाली कांग्रेसले स्वागत गरे पनि प्रचारबाजीका रूपमा प्रयोग नगर्न सरकारलाई र शक्ति सञ्चयको रूपमा प्रयोग नगर्न विप्लव समूहलाई सचेत गराएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विद्रोहको अन्ततः निकास शान्तिपूर्ण राजनीति नै भएकाले वार्ताको प्रयास सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । तर बदलिँदो राजनीतिक घटनाक्रमले एउटा आकार नलिँदै वार्ता टोली गठन गरेर प्रचारबाजी मात्रै गर्न खोजिएको भए त्यस किसिमको गल्ती नगर्न सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिसकेपछि नेपालको राष्ट्रिय राजनीतिले एउटा निश्चित आकार लिन बाँकी छ । त्यो आकार लिएर अगाडि बढ्ने प्रक्रियाले निश्चित परिदृश्य उत्पन्न हुनुपूर्व नै एकाएक अहिले जुन समितिहरू बनेका छन्, यो केबल नागरिक शान्तिको अपेक्षा राख्छ भन्ने हिसाबले यसलाई वार्ताका लागि वार्ता गरे जस्तो गरेर, वार्ता समिति बनाएर, हामीले काम गर्न खोजेका थियौँ भन्ने अवस्था बनाएर केबल प्रचारबाजीमा गएर भावनामा खेल्ने कर्म सरकारले गर्नु हुन्न र सँगै विप्लव समूहले पनि गर्नु हुन्न । यो सन्दर्भमा हामी सरकार र विद्रोही पक्षलाई चेतावनीयुक्त भाषामा नेपाली कांगेस पार्टीको तर्फबाट तपाईँहरूले नागरिककाे भावनालाई खेलबाड नगरेर वार्तालाई केबल प्रचारबाजी, सरकारले प्रचारबाजीमा र विद्रोहीले केबल शक्ति सञ्चय गर्ने रणनीतिमा प्रयोग गर्ने दिशामा तपाईँहरू जानु हुन्न र इमानदार ढङ्गले वार्ता गरेर समाधानमा पुग्नुपर्छ भन्ने अपिल गर्न चाहन्छौँ ।’ 

विप्लव समूहसमेतको सहभागितामा भएको सशस्त्र द्वन्द्व र नेपाली कांग्रेसलगायत दलहरूले गरेको शान्तिपूर्ण आन्दोलापछिको बाह्र बुँदे समझदारी र त्यसकै जगमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको परिधिभित्रैबाट समाधान खोजी देशलाई निकास दिन पनि अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वागतयोग्य छ । सकारात्मक छ । तत्कालै विप्लव समूहबाट पनि वार्ता समिति बन्यो । हामीले दुवै समिति बन्ने कुरालाई सकारात्मक रूपमा लिएका छौँ । नेपाली कांग्रेस पार्टीले पहाड जत्रो आकारमा पुगेको विप्लव समूहलाई शान्तिपूर्ण रूपमा रूपान्तरण गर्ने क्षमता राख्छ भने शासकीय योग्यता तपाईँहरूले राख्नुपर्छ र आफ्नै एउटै रूप रङ्ग भन्ने नेपाल कम्युनिस्ट पार्टीलाई उही रूप रङ्गमा ल्याउनुहोस् भनेर हामीले अपिल गरेका थियौँ । त्यसैले सरकारले प्रतिबन्ध लगाएर बल प्रयोगबाट समाधान गर्न खोज्नु गलत हाे र हिंसाको बाटोबाट अगाडि गएर गतिविधि गर्दै हुनुहुन्छ, विप्लवले गलत गर्दै हुनुहुन्छ भनेर हामीले वार्ताबाट समाधान खोजी गरेका थियौँ । त्यसकारण अहिले सरकारले बनाएको वार्ता समिति र विप्लव समूहले बनाएको वार्ता समितिलाई सकारात्मक रूपमा लिन्छौँ । स्वागतयोग्य मान्छौँ ।’ 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका नेता गङ्गालाल तुलाधरले सरकारले समस्यालाई तार्किक निष्कर्षमा पुर्‍याउन नभइ अहिलेको राजनीतिक घटनाक्रमबाट ध्यान अन्यत्र मोड्नका लागि गरिएको ‘प्रपञ्च’ को संज्ञा दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट छ भन्नु, सर्वोच्च अदालतले मैले भनेजस्तो गर्दिएन भने आन्दोलन गर्छु भन्नु र अहिले वार्ताका लागि टोली गठन गर्नु प्रधानमन्त्रीको विक्षिप्त मानसिकताको शृङ्खलाकै रूपमा आएको उहाँले टिप्पणी गर्नुभयो ।

सर्वोच्च अदालतको फैसलापछि सर्वत्र प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने चर्चा भइरहेका बेला ध्यान अन्यत्र मोड्नका लागि सरकारले वार्ता टोली गठन गरेको तर्क 
नेता तुलाधरले गर्नुभयो । तर उहाँले समस्यालाई तार्किक निष्कर्षमा पुर्‍याउने ढङ्गले वार्ता टोली गठन गरिएको हो भने त्यसबाट आफूहरू खुसी नै हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वार्ता टोलीले तार्किक निष्कर्षमा पुर्‍याउँछ भने, समस्या समाधान हुन्छ भने हामी बृहत्तर शान्तिको पक्षमा अगाडि बढिरहेकाहरूलाई खुसी लाग्नु स्वाभाविक हो र म पनि खुसी नै छु । तर के यो वार्ता तार्किक निष्कर्षमा पुग्नकै निम्ति, सार्थक परिणाम निकाल्न कै निम्ति गरिँदैछ ? त्यस्तो होइन जस्तो मलाई लाग्छ । प्रतिनिधि सभा विघटन गरेर प्रतिगमनको बाटोतर्फ ओलीजी जसरी हिँड्न खोज्नुभएको थियो त्यो कुराले त सिङ्गो शान्ति प्रक्रिया अब भाग्ने हो कि भन्ने ठाउँमा पुगेको थियो । सर्वोच्चले न्यायिक फैसला गरिदिएर जुन परिस्थिति निर्माण भएको छ, एक प्रकारले आशा पलाएको छ । यस्तो आशा पलाइरहेको स्थितिमा फेरि अर्को पक्षसँग वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउने र बाँकी शान्ति प्रक्रियाका कामलाई पूरा गर्ने उद्देश्य राख्नु आफैमा राम्रै कुरा हो तर मलाई विश्वास लाग्दैन कि ओलीजीले इमानदारीतापूर्वक यो काम गरिरहनुभएको छ । भोलिदेखि नै देखिएला वार्ताका परिणाम, के देखिन्छन् भन्ने खालका कुराहरू तर सार्थक परिणाम निस्कन्छ भने यो कुरा ठिकै हो ।’ 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया