गुदपाक, पुष्टकारीकाे नेपाली रेसिपी पुनर्जीवित गर्दै 'माक्कुसे'

 फागुन २१, २०७७ शुक्रबार १२:५८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : माक्कुसे

काठमाण्डाै – आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्ट ब्राण्ड 'माक्कुसे' बजारमा आएको छ । नेवारी भाषामा 'माक्कुसे' को वर्णन नै गर्न नसकिने अत्यन्तै मिठो भन्ने हुन्छ। 

'माक्कुसे' ब्राण्डबाट अहिले परम्परागत पुष्टकारी, गुलाबजल र पिस्तासहितको गुदपाक, मोका (कफी मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन् । 

'माक्कुसे' का उत्पादनहरू परम्परागत नेपाली डेसर्टबाट प्रेरित छन् । उत्पादनहरू दूधको खुवा प्रयोग गरी बनाइएको छ। पहिलेको स्वाद र नयाँ तरिकाको बनावट रहेका यी उत्पादनहरूले पुराना र नयाँ स्वादलाई सन्तुलन गर्ने बताइएको छ। 

‘गुदपाक, पुष्टकारी मिठो स्वादका लागि मात्रै होइन, पोषणका लागि पनि उत्तिकै महत्त्व बोकेको छ । हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौँ', माक्कुसेकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सह–संस्थापक अनुस्का श्रेष्ठ भन्छिन्, 'हाम्रो उत्पादनहरू विगतको दायराबाट नवीन र उत्साहजनक भविष्यतर्फ लम्किएको छ।'

गुदपाक जस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गइरहेको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको अनुस्काको भनाइ छ । काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पादन तयार गरिने बताइएको छ । 

मिस वर्ल्ड नेपाल २०१९ को विजेतासमेत रहेकी अनुस्का मिस वर्ल्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र त्यही चाहनालाई पछ्याउँदै 'माक्कुसे' को स्थापना गरेको बताउँछिन् । अहिले 'माक्कुसे' लाई अनुस्काले नै नेतृत्व गरिरहेकी छिन् ।

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुस्का विदेशमा अर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउँछिन् ।

परम्परागत डेसर्टलाई बजारमा ल्याएर व्यवसायमा जम्न सजिलो थिएन, झन् 'माक्कुसे' सुरु गर्नै लाग्दा कोभिड–१९ का कारण समय जटिल पनि बन्यो । यो चुनौतीलाई सामना गर्दै विभिन्न क्षेत्रमा सफल युवा तथा महिला उद्यमीहरूको समूहले पोषण तथा सरसफाइ ध्यानमा राखेर गुणस्तरीय उत्पादन गर्न सफल भएको छ ।

‘जब हामी कुनै खास देशको मिठाइहरू सोच्दछौँ त अनेकौँ तस्बिर दिमागमा आउँदछ । नेपाली मिठाइका बारेमा सोच्दा तपाईँको दिमागमा कस्तो चित्र आउँछ?', अनुस्का भन्छिन् 'हामी विश्वास गर्दछौँ कि माक्कुसे यसको जवाफ हुन सक्छ ।’

'माक्कुसे', नेपाली डेर्जट ब्राण्ड नेपालमा मात्र नभइ विश्वमै नेपालको मिठाइको अद्वितीय पहिचान बनाउन सफल हुने विश्वास यस टिमको छ ।

'माक्कुसे' को सामाजिक सञ्जाल र लोकप्रिय नेपाली ई–कमर्स ग्यापु मार्केटप्लेसको मोबाइल एप तथा वेबसाइट (gyapu.com) मा अर्डर गरी 'माक्कुसे' नेपालभर घरैमा डेलिभरी मगाउन सकिन्छ ।  

'ग्यापु' मार्फत नै विदेशमा रहेका व्यक्तिले त्यही देशको डेबिट/क्रेडिट कार्ड प्रयोग गरेर नेपालमा रहेका आफन्तलाई 'माक्कुसे' का उत्पादन उपहार पठाउने व्यवस्थासमेत मिलाइएको छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया