पोखरा गोल्डकपको पहिलो क्वाटरफाइनलमा आज पुलिस र ब्रिगेड ब्वाइज...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
बिहीवार काठमाण्डाैमा वर्तमान राजनीतिक सङ्कट र त्यसको समाधान विषय विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफूहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताउनुभएको हो । वर्तमान राजनीतिक समस्या समाधान गर्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने भन्दै उहाँले मिलेर जानका लागि जुनसुकै विकल्पको निम्ति पनि आफूहरू तयार रहेको उहाँले बताउनुभयाे ।
प्रतिगमका विरुद्ध सङ्घर्ष गर्ने दलहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौँ । सहकार्य गरौँ । खुला रूपमा छलफल गर्न तयार छौँ । कुन ढङ्गले गर्दा हुन्छ हामी सबै अप्शनकाे निम्ति तयार छौँ । हामी बाधक होइनाैँ । हामी समस्या होइनाैँ । हामी समस्या समाधानका निम्ति तयार छौँ । पार्टीहरू नमिलेर उपाय छैन । प्रतिगमनका विरुद्ध सङ्घर्षको मैदानमा उभिएका दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । सँगसँगै जान सकिन्छ भन्ने कुराको विगतमा पनि हामीले उदाहरण प्रस्तुत गरेका छौँ, नसकिने कुरा होइन । सहमति ठोस रूपमा गरेर जाने हो भने विवाद मात्रै हुन्छ भन्ने ठान्नु हुँदैन ।’
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले निष्पक्ष रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद निरूपण गर्नुपर्ने बताउनुभयो । प्रतिगमनका विरुद्धमा अघि बढेका शक्तिहरूबीच सहमति गरी सरकार गठन गर्नुपर्ने उहाँले बताउनु भयो ।
सरकारको प्रधानमन्त्री को भन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्त्वपूर्ण कुरा भएको भएकाे नेता यादवकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘जो प्रतिगमनका विरुद्धमा, असंवैधानिक कदमका विरुद्धमा, लोकतन्त्रका लागि अघि बढे, ती सबै शक्ति बसेर सहमति किन नगर्ने ? साझा चिन्ताको आधारमा अर्को सरकार गठन गर्ने । अहिलेको अवस्थामा सरकारको प्रधानमन्त्री को बन्ने भन्दा पनि सिस्टमलाई कसले जोगाउने ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसले संस्थागत गर्ने त्यो महत्त्वपूर्ण कुरा हो ।’
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै चुनाव गर्ने सहमतिका साथ ओली बाहेकका शक्तिहरू मिलेर चुनावी सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ । त्यस निम्ति हिजो संसद पुनर्बहाली हुनुपर्छ भन्ने शक्तिहरू सबै मिल्नुपर्छ । त्यसपछि समस्याको समाधान चुनाव नै हो । अर्ली इलेक्शन गर्ने । एउटा चुनावी सरकार, केपी ओलीको कित्ताबाहेकको चुनावी सरकार । चुनाव गर्ने सहमतिमा अगाडि बढ्ने अबको विकल्प हो ।’
देशमा नैतिकताविहीन राजनीति रहेको भन्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर लोकतन्त्रको धज्जी उडाएकाे पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।