अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमति पालना गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा गृहमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको हो । आफ्नो पार्टीले सहमति पालन गर्ने भन्दै उहाँले कसैले पनि आशङ्का गर्न आवश्यक नरहेको बताउनुभयो ।
कम्युनिस्टहरू आफ्नो मान्यता देशमाथि हस्तक्षेप भएको महसुस हुँदा विद्रोह गर्ने र राज्यले बदलिएको परिस्थितिमा आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरू शान्तिको दूत बन्ने पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी कम्युनिस्ट जतिबेला अन्याय हुन्छ, जतिबेला आफ्ना मान्यताहरूमाथि हमला भएको महसुस हुन्छ, आफ्नो देशमाथि अतिक्रमण भएको वा कसैले हस्तक्षेप गरेको अनुभूति हुन्छ, उनीहरू विद्रोह गर्छन् । हामी कम्युनिस्टहरू हाम्रा मान्यताहरूमाथि हमला हुँदाखेरि, हाम्रा आकाङ्क्षामाथि हमला हुदाँखेरि, हाम्रो देशमाथि धावा हुँदा, हाम्रो देशमाथि कसैले अलिकति गिद्दे दृष्टि लाउँदा हामी विद्रोह गर्छौँ । हामी विद्रोह गर्ने मान्छेहरू हौँ र विद्रोह गर्दै अहिलेसम्म आएका छौँ । तर कम्युनिस्टहरू विद्रोह मात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ, परिस्थिति बदलिएको स्थिति भएर राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरू भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धा मात्रै होइन, शान्तिका दूत पनि संसारमा कोही छन् भने कम्युनिस्टहरू नै छन् । सम्पूर्ण उत्पीडनलाई मिल्काएर समाजमा दीर्घकालीन ढङ्गले न्यायपूर्ण समाज स्थापित गर्ने विचार, दृष्टिकोण र आकाङ्क्षा कहीँ छ भने त्यो कम्युनिस्ट आन्दोलनसँग छ । त्यो हामीलाई विश्वास छ । त्यसैले त्यो आकाङ्क्षासहित हामीले सङ्घर्ष गरेका छौँ र आजको परिवेश बदलिएपछि हामीले भनेका छौँ, तीन बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध छ । यसलाई हामी पालना गर्छौँ । यसलाई हामी दृढतापूर्वक भन्छौ यहाँ कसैले पनि, कहीँबाट पनि आशङ्का या विभिन्न ढङ्गले यसलाई उत्तेजनात्मक या अर्को ढङ्गले कुतर्क गर्न जरुरी छैन । हामी प्रतिबद्ध छौँ । यसलाई हामी पालना गर्छौँ ।’
महासचिव विप्लवले देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपनासहित सहमति भएको दाबी गर्नुभयो । देशमा शान्ति, स्थिरता र समृद्धिको आकाङ्क्षासहित सहमति गरिएको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्रै कुरा होइन, यो सहमति केवल पार्टीको कुरा मात्रै होइन र केही नेताहरूको कुरा होइन । यो सहमतिको पछाडि हाम्रो त्योभित्र लुकेको एउटा महान् आकाङ्क्षा छ । नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ । योभित्र देशमा दीर्घ शान्ति, स्थिरता, र नेपाली नागरिककाे अहिलेसम्म पूरा नभएको समृद्धिको आकाङ्क्षा, नेपालको युवाभित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहाना योभित्र रहेको छ । त्यसैले यसलाई पूरा गर्नका लागि जसरी हामीले सम्पूर्ण क्षेत्रबाट एउटा सकारात्मक सहयोग प्राप्त गर्याैँ हामी खुसी छौँ र हामी धन्यवाद दिन चाहान्छौँ ।’
महासचिव विप्लवले देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने बताउनुभयो । कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि उहाँले नागरिकले स्वतन्त्रतापूर्वक कदम चाल्नका लागि नागरिकलाई जनमतको अधिकार दिनुपर्ने उहाँले बताउनुभयो । नेपालमा कसैले पनि सुरक्षित महसुस नगरेको तथा नेताहरूले समेत आफैले नेतृत्व गरिरहेको जस्तो अनुभूति नगरेको भन्दै महासचिव विप्लवले नागरिकलाई मतको अधिकार दिइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी अहिलेको सरकारसँगको कुरा होइन, यो हामी होल नेपालको एउटा राजनीतिक रूपान्तरणको प्रक्रियामा जे जति छलफल र बहसहरू भए त्योमा हामी सहमत हुन सकेनौँ, भएनौँ र हामीले आफ्नो तर्फबाट एउटा विद्रोह गर्याैँ । हामी अगाडी बढेकै हो । हाम्रो अहिले पनि भनाइ छ– नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेतालाई, सबै पार्टीलाई, सबै नागरिकलाई आफ्नो जीवनमाथि आफै हाबी भएको, आफै नेतृत्व गरिरहेको जस्तो अनुभूति भइराखेको छैन । हरेक घटनाक्रममा एउटा ठूलो तरङ्ग नेपाली नागरिककाे बीचमा छ, अहिले पनि छ, सायद तपाईँहरू सबैले बुझिसक्नुभाछ, झुपडीमा पनि त्यो छ । महलमा पनि छ । सहरमा पनि छ । गाउँमा पनि छ । नयाँ प्रयोग नेपाली इतिहासमा आवश्यक बन्न गएको छ । हामीले भनेका छौँ, जनमत । छलफल हुने पनि गरेको छ जनमत सार्वभौम शक्ति सम्पन्न नागरिकलाई एकचोटि नयाँ फैसला गर्ने वातावरण बनाउनु जरुरी छ । के चाहान्छन् नागरिकले ? के तपाईFको यो दलाल पुजीँवादीहरूको चक्रमा सधैँ घुम्नुपर्ने हाम्रो नियति हो ? के नेपाली नागरिकले कहिल्यै पनि स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने ? कहिलेकाहीँ राज्यले–सरकारले चाल्न खोज्दाखेरि पनि नहुने परिस्थिति त बन्यो नि त । यो त हामीले छ्याङ्गै देखेको छौँ नि । नागरिकले सोच्ने कुरै छैन, सोच्न पाउने ठाउँ नै छैन । कसैले पनि नेपालको बारेमा नजिकबाट अपनत्व ठानेर निर्णय गर्छु भन्दाखेरि नपाउने स्थिति बनेको छ । यो परिवेशलाई अन्त्य गर्न नेपाली नागरिकलालाई एकचोटि त्यो अधिकार प्रयोग गर्न दिनुपर्छ, हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेता, दल सबैलाई हामीले चुन्यौँ । आवश्यक पर्दाखेरि प्रत्यक्ष ढङ्गले नेपालको भविष्यको बारेमा जनमत दिने फैसला दिने अधिकार नागरिकले पाउनुपर्छ । हामी हृदयपूर्वक सबैलाई आग्रह गर्न चाहान्छौँ, हामी तयार छौँ । युद्धको अन्त्य कसैले गर्छ यो विश्वमा भने कम्युनिस्टले मात्रै गर्छ । कम्युनिस्ट जुन दिन विजय हुन्छ, संसारमा सम्पूर्ण हतियार र युद्धको अन्त्य हुनेछ । हाम्रो त्यो विश्वास छ ।’
उहाँले सहिदले देखेको परिवर्तनको सपना पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । सरकारसँगको सहमतिपछि आफ्ना नेता–कार्यकर्ता जेलबाट छुट्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहिद परिवारलाई विश्वास दिलाउँ कि हामी जे सपना देखेर यो कम्युनिस्ट आन्दोलनमा लाग्यौँ हाम्रो जीवन बलिदान गर्छौँ तर सहिदको सपना मर्न दिदैँनौँ । हाम्रो एउटा त्यो प्रतिबद्धता छ । बेपत्ता योद्धाहरूको कुरा गर्नुस् । हाम्रा घाइतेहरूका कुरा गर्नुस् । या नेपालको परिवर्तनकारी आन्दोलनमा अहिलेसम्म अपाङ्ग भएर बसिराख्नुभएका हाम्रा योद्धाहरूको कुरा गर्नुस्, हामी सबैलाई यतिबेला सम्झिनुपर्छ र सम्मान गर्नुपर्छ । हामीले उनीहरूको चाहनालाई पूरा गर्ने एउटा प्रतिबद्धता गर्नुपर्छ । अहिले पनि हाम्रा डेढ सयभन्दा बढी कमरेडहरू जेलमा हुनुहुन्छ । छुट्दै पनि आउनुभएको छ । कमरेड कञ्चन यहाँ आइपुग्नुभएको छ छुटेर र उहाँलाई म यहाँबाट स्वागत गर्न पनि चाहन्छु र हाम्रा धेरै साथीहरू अब सायद छुट्नु हुनेछ र हामी एउटा मुक्त आकाशमा फेरि मिलन हुनेछौँ । हाम्रो विश्वास छ यो वातावरण बनेको छ । यसका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी हामी दुवैले एउटा जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।’
महासचिव विप्लवले सबैसँग सहकार्य, हातेमालो गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पार्नुभयो । विदेशीले हस्तक्षेप गरेमा जीवन धरतीमा गाडिए पनि सम्झौता नहुने प्रतिबद्धता उहाँको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दुई वर्षभन्दा बढी समयपछि शुक्रवार काठमाण्डाैमा सार्वजनिक हुनुभएको हो ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।