संविधान, कानुनअनुसार महिलाले धेरै अधिकार पाएका छन् तर कार्यान्वयनमा समस्या छ : नेतृ भुसाल

 फागुन २४, २०७७ सोमबार १४:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भुसालले महिलाले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । 

सोमबार एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशतभन्दा बढी सङ्ख्यामा रहेका महिलाले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको हो । संविधानतः महिलाले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेको भन्दै उहाँले त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ । त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो । आज संविधानतः, कानुनतः नेपाली नागरिक र नेपाली महिलाले धेरै अधिकार पाएको हामी मान्छौँ । तर कार्यान्वयनको तहमा चुनौती छ, समस्या छ । राष्ट्र प्रमुखदेखि न्यायपालिकालगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू भइराखेका छैनन् । हामीले १६ वटा मौलिक अधिकार संविधानमा सुनिश्चित गरेका छौँ । ती मौलिक अधिकारसम्बन्धी कानुन बनेका छन् । त्यसको कार्यान्वयन भइराखेको छैन, त्यो कार्यान्वयन हुनुपर्छ । र ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गर्दा १७ प्रतिशत महिलाको अधिकार गरेर बराबरीको अधिकार पाउने कुरालाई हामीले अबको माग र आन्दोलनको रूपमा अगाडि बढाउनुपर्छ ।’

नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरूको कार्यान्वयनको आधार आर्थिक समानता भएकाले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलालाई भत्ता दिइ संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राजनीतिक अधिकार र संविधान र कानुनमा पाउने अधिकारले मात्रै पुग्दैन । त्यसको कार्यान्वयन र कार्यान्वयनको आधार आर्थिक समानता हो । त्यसैले आर्थिक हिसाबले सबै क्षेत्रमा समान र आत्मनिर्भर बन्न सक्ने महिलाको स्थितिलाई सुनिश्चित गरेर मात्रै राजनीतिकलगायत सामाजिक, आर्थिक अधिकारका रूपमा हामीले उपभोग गर्न सक्छौँ । त्यसैले पैतृक सम्पत्तिमाथिको समान अधिकारलाई जीवन व्यवहारमा कार्यान्वयन गर्ने कुरा, घरेलु काम जो अहिलेसम्म आर्थिक उत्पादनमा जोडिन्न त्यसलाई आर्थिक उत्पादनको काममा गणना गरेर अनि त्यसको मूल्यबोध गराउने कुरा र रोजगारको ग्यारेन्टी र रोजगार दिन नसक्दा महिलालाई बेरोजगार भत्ता दिएर अनि आत्मनिर्भर र स्वतन्त्र ढङ्गले अगाडि बढ्न सक्ने अधिकारको संविधान र कानुनले ग्यारेन्टी गरेको छ । अब राज्य र सरकारले त्यसको कार्यान्वयन गर्नुपर्दछ ।’

अनेरास्ववियुले टेम्पो चालक महिलालाई सम्मान गरेको छ । यसैगरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसर पारेर ललितपुर महानगरपालिका, नेपाल साइकल सोसाइटी र रोटरी क्लब अफ पाटनले साइकल र्‍याली गरेका छन् । विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट टाँसेर कुदेका साइकलले पाटन नगर परिक्रमा गरेको थियो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया