देशका केही ठाउँमा कोरोना खोप अभाव, किनेकाे खोप नआउँदा अभियान प्रभावित

 फागुन २८, २०७७ शुक्रबार ११:२४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका विभिन्न ठाउँमा कोरोनाविरुद्धको खोप अभाव भएको छ । यसले गर्दा दोस्रो चरणको खोप अभियान नै प्रभावित हुन थालेको छ ।

सरकारले  गएको २३ गते देखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिन थालेको छ । अहिलेसम्म ९ लाखभन्दा धेरै ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।

यो अभियानमा सरकारले ६५ वर्षमाथिका झण्डै १७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेको थियो । तर, अपेक्षा गरिएअनुसार थप खोप नआउँदा केही ठाउँमा खोप अभाव हुन थालेको छ । अहिले भएको खोपको मात्राले खोप दिने भनिएको झण्डै १७ लाख ज्येष्ठ नागरिकमध्ये केहीलाई नपुग्ने अवस्था देखिएको छ ।

अहिले गण्डकी प्रदेश, प्रदेश नम्बर १ र २ नम्बर प्रदेशका केही पालिकामा खोपको अभाव भएको गुनासो आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।

उहाँले अभाव देखिएको ठाउँमा समन्वय गरेर भएका खोप पुर्याउने तयारी थालेको पनि जानकारी दिनुभयो । कतिपय ठाउँमा अनुमान गरिएभन्दा खोप लगाउनेहरु धेरै भएकाले पनि अभाव देखिएको उहाँको भनाइ छ । खोप अभियानमा ज्येष्ठ नागरिकको उपस्थिति उत्साहजनक पाइएको छ ।

नेपालमा अहिलेसम्म साढे १३ लाख जनाले  कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । तर, खरिद गरेकै खोप पनि कहिले आउँछ भन्ने अन्याेल रहेकाले लक्ष्यअनुसार ज्येष्ठ नागरिकलाई पनि खोप दिन चुनौती देखिएको छ ।  

सरकारले खोप भएसम्म वितरण गर्ने जनाएको छ । तर, खोप आउन ढिलाइ भए खोप अभियान केही समयका लागि रोकिने छ । केही समय खोप अभियान रोकिए पनि आत्तिहाल्नु नपर्ने खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर  श्यामराज उप्रेतीले बताउनुभयो ।

सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै थप ५० लाख डोज खोप खरिदको प्रक्रिया थालेको बताए पनि यसमा पनि अन्याेल देखिएको छ । नेपालले सबैभन्दा पहिले भारतबाट १० लाख डोज खोप अनुदानमा पाएको थियो ।

त्यसपछि  भारतकै खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित २० लाख डोज खोप सरकारले खरिद गरेको थियो । तर, खरिद गरेको २० लाख डोजमध्ये नेपालमा जम्मा १० लाख डोज खोप मात्रै आएको छ । बाँकी खोप आउन बाँकी छ ।

बाँकी खोप कहिलेसम्म आइपुग्छ भन्ने अझै टुङ्गो लागिसकेको छैन । सरकारले जतिसक्दो यी खोप ल्याउन खोप उत्पादक कम्पनीसँग छलफल गरिरहेको  बताएको छ । यस्तै, कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको थियो । सरकारले पहिलो चरणको खोप अभियानमा ४ लाख २९ हजारलाई खोप दिएको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया