रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढ्यो

 चैत २, २०७७ सोमबार ८:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेको छ ।

गएको जेठ २२ गतेदेखि दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउने गरेकामा अहिले गाडीको सङ्ख्या थप भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार अहिले दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् । सात वटा चिनियाँ गाडीले आयात गरेका सामग्री नेपाली १५ वटा मालवाहक कन्टेनरमा लोड गर्न सकिने कार्यालयले जनाएको छ ।

सीमा जोडिएको क्षेत्रमा कोरोनाको सङ्क्रमण नरहेकाले भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाइएको चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ । अहिले चीनबाट रेडिमेड सामग्री, जुत्ताचप्पल, मेसिन, फर्निचरलगायतका सामग्री आइरहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

रसुवा भन्सार कार्यालयले दोस्रो चौमासिकसम्ममा लक्ष्यको २८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । साउनदेखि फागुन मसान्तसम्ममा ७ अर्ब ४८ करोड ५५ लाख २३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । जसमा २ अर्ब ९ करोड ६५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

 चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म १८.५ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया