भक्तपुरको ताथली–नाला सडक पिच गरेको केही दिनमै चिरा पर्न थाल्यो !

 चैत २, २०७७ सोमबार १९:५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर – भक्तपुरको ताथली–नाला सडकमा गरिएको कालोपत्र केही दिनमै चिरा परेको छ । ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक चिरा परेको स्थानीयबासिन्दाले गुनासो गरेका छन् । कालोपत्र नै चिरा पर्न थालेपछि फेरि पनि धुलोको मार खेप्नुपरेकाे भन्दै स्थानीयबासीले गुनासो गरेका चाँगुनारायण नगरपालिका ९ का वडाध्यक्ष गणेश त्यातले जानकारी दिनुभयो । 

यो सडक कालोपत्रको काम ब्राइट तेज स्लेट जेभीले ठेक्का पाएको थियो । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा पर्ने यो सडकखण्ड अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा रहँदै आएको छ । च्याम्हासिंह–ताथली–नाला सडकअन्तर्गत फैढोकाको पाँगो खानीदेखि चोकन्तिला सडक खण्डका ठाउँ–ठाउँमा गरिएको कालोपत्र बिग्रन थालेको हो । 

वडाध्यक्ष त्यातका अनुसार सडक डिभिजन कार्यालय भक्तपुरले सडक निर्माणको जिम्मा ठेकेदार कम्पनीलाई दिएको हो । ‘कहिलेकाहीँ अनुगमन गर्नेबाहेक अरू जिम्मेवारी वडाको हुँदैन’, उहाँले भन्नुभयो,‘जे सुकै भए पनि यति छिट्टै नबिग्रनुपर्ने हो । कमसल सामग्रीको प्रयोग र लापर्बाहीकै कारण यस्तो भएको हो ।’  

कालोपत्रअन्तर्गत गरेको प्रिमिक्स पिच गतिलो नहुँदा छिट्टै बिग्रिएको र देखाउनका लागि मात्र काम गरिएको उहाँको भनाइ छ । पिचअन्तर्गत चोकन्तिलाबाट ताथली आउने क्रममा साखः मेटल इण्डस्ट्रिजसँगैको मोड चिरा–चिरा पर्न थालेको छ । केही दिन अगाडि मात्र गरिएको पिचमा तीन वटा औँला छिर्ने चिरा परिसकेको छ ।

यसैगरी त्यही सडक खण्डअन्तर्गतको पाँगो खानीमा पनि चिरा–चिरा देखिन थालेको छ । पाँगो खानीको सडकको भागमा चिरा देखिन थालेपछि ठेकेदार कम्पनीले हतार–हतार पिचलाई उप्काएर टालटुलको काम थालेको वडाअध्यक्ष त्यातले बताउनुभयो । अरू ठाउँमा भने भत्किएको पिच यत्तिकै छ । 

एक अर्कोमा आरोप–प्रत्यारोप 

पिच उप्किएको गुनासोपछि एक अर्काबीचमा आरोप–प्रत्यारोप हुन थालेको छ । ठेकेदार कम्पनीको लापर्बाहीले सडक उप्किएको स्थानीबासिन्दा र जनप्रतिनिधिको दाबी छ । ठेकेदारले काम गरिरहँदा सडक विभागका कर्मचारी कहिलेकाहीँ मात्रै उपस्थित हुने गरेको उनीहरूको भनाइ छ । 

ठेकेदार कम्पनी भने पिच गरेर शेटिङ नहुँदै टिपर चलाएका कारण पिचमा चिरा परेको बताउँछ । पिच राम्ररी बस्न नपाउँदै गाडी तथा टिपर चलेकाले समस्या भएको र सडक चिरा पर्नुको कारण टिपर नै रहेको कम्पनीको दाबी छ । सडक डिभिजन कार्यालय भक्तपुरका धनकृष्ण भट्टराईले पनि राम्रोसँग शेटिङ नभइ टिपर चलेकाले समस्या आएको बताउनुहुन्छ । जसरी बिग्रिएको भए पनि ठेकेदार कम्पनीले बिग्रिएको ठाउँमा बनाइदिनुपर्ने नभए क्षतिपूर्ति दिनुपर्ने भट्टराईको भनाइ छ । गएको वर्ष सडकको स्तरोन्नतिका लागि पाँच करोड रुपैयाँ विनियोजन भएको थियो ।    

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया