‘सरकारलाई दिएकाे समर्थन हतारमा फिर्ता लिने पक्षमा छैनाैँ’

 चैत ३, २०७७ मंगलबार १६:१०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रलाई बिउँताइसकेपछि पहिलो पटक मङ्गलवार सिंहदरबारकाे दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एकताअघिकाे अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताउनुभयो । 

त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उहाँले जानकारी दिनुभयो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको मागसमेत गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रूपले पदमा रहिरहन मिल्दैन । राजीनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ ।’

माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पार्नुभयो । संसदीय दलको बैठकले पार्टी छाडेका दुई जना राष्ट्रिय सभा सदस्य र चार जना प्रतिनिधि सभा सदस्यलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ । हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रूपले राजीनामा दिनुस् किनभने तपाईँले प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि, निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेका छौँ । ध्यानाकर्षण गराएका छौँ । हतारमा अहिले हामी समर्थन फिर्ताको निर्णयमा छैनौँ ।’

पार्टी परित्याग गरेका सांसदसँग अन्तिम छलफल गर्नका लागि मङ्गलवार नै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको तीन सदस्यीय समिति बनाएको र समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि सांसद पुनले जानकारी गराउनुभयो ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया