वैदेशिक रोजगारी : श्रमिककाे प्रश्न, गुनासो र समस्या सुन्न श्रम कल सेन्टर

 चैत ४, २०७७ बुधबार १३:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ र कुनै समस्यामा पर्नुभएको ? वा विदेश जाने तयारीमा ? वा देशभित्रै कुनै काम या व्यवसाय गर्ने योजना छ ? तपाईँले आफ्नो समस्या, गुनासो, प्रश्न र जिज्ञासा वैदेशिक रोजगार बोर्डको कल सेन्टरमा राख्न सक्नुहुन्छ । 

वैदेशिक रोजगार बोर्डले श्रमिकका समस्या, जिज्ञासा सुन्न र सम्बन्धित निकायसँग समन्वय गरी त्यसको समाधान गर्नका लागि श्रम कल सेन्टर सञ्चालन गरिरहेको छ । 

कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्डलगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा, कार्यक्रमहरूबारे कुनै पनि जानकारी, सुझाव वा गुनासो गर्न सकिने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

 स्वदेश तथा विदेशमा रहेकाले फोन, इमेल, भाइवर लगायतबाट आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सक्नेछन् । 

जुन निकायसँग सम्बन्धित गुनासो वा सुझाव छ त्यसलाई तत्काल कल सेन्टरमार्फत त्यही निकायमा पठाउने व्यवस्था गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

गुनासो वा सुझावको सुनुवाइ भए/नभएको अनुगमन समेत हुन्छ । 

‘सेवाग्राहीलाई तत्काल सेवा दिन र साँच्चै नै सबै निकायलाई जिम्मेवार र उत्तरदायी बनाउनका लागि यो काम हामीले अघि बढाएका हौं, यसले सबैलाई फाइदा पुग्ने हाम्रो विश्वास छ,’ श्रेष्ठले भन्नुभयो । 

यी नम्बरमा सम्पर्क गर्न सकिन्छ 

वैदेशिक रोजगार बोर्डको श्रम कल सेन्टरमा ११४१ नम्बरमा फोन गर्न सकिन्छ । कल सेन्टरको टोल फ्री नम्बर १६६००१५०००५ नम्बरमा पनि सम्पर्क गर्न सकिन्छ । देश तथा विदेशमा हुनेले ह्वाट्सएप नम्बर ०१५९७०००८ र भाइवरमा ९८०१८०००१३ नम्बरमार्फत सम्पर्क गर्न सकिन्छ । श्रम कल सेन्टर नामक फेसबुक पेजमार्फत पनि श्रम कल सेन्टरमा आफ्नो समस्या, प्रश्न र जिज्ञासा राख्न सकिन्छ ।

पहिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हाता भित्र रहेको श्रम कल सेन्टर अहिले वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलमा सारिएको छ । श्रम कल सेन्टरलाई थप प्रभावकारी रूपमा अघि बढाउनका लागि कल सेन्टर बोर्डमा सारिएको र अब अझ प्रभाकारी रूपमा श्रम कल सेन्टरमार्फत काम हुने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । साथै उहाँले आफ्नो समस्या, प्रश्न र जिज्ञासा श्रम कल सेन्टरमार्फत राख्न पनि अनुरोध गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया