हाम्राे माग सम्बाेधन गर्न प्रधानमन्त्री सकारात्मक देखिनुभएकाे छ : जसपा नेता कर्ण

 चैत ४, २०७७ बुधबार १५:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णले आफूहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको बताउनुभएको छ । 

सिंहदरबारमा बुधवार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान संसोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दालाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको बताउनुभएको हो । 

राजनीतिक दलबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरूको मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको बताउनुभएको हो ।  प्रतिनिधि सभा पुनर्स्थापनालगत्तै सर्वोच्च अदालतको फैसलाबाट नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै अवस्थामा फर्किएपछि दलहरूबीच सरकार गठनको कसरत तीव्र बनेको छ । नेता कर्णले सबै दलसँग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताउनुभयो ।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गर्नुभयो । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न–भिन्न भएको भन्दै उहाँले अरू दलको आड लिएर नेतृत्वमा पुग्न नहुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरूको हत्केलामा हुन्छ । अरूको हत्केलामा भएको सरकार जुन बेला पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ । त्यस कारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो र सरकारै चलाउने विषय झन् अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन ।’  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया