‘प्रधानमन्त्रीले नैतिक दायित्व लिँदै मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन ?’

 चैत ६, २०७७ शुक्रबार १६:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि विघटन गर्न प्रस्ताव गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिँदै मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ । 

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक खाँडले प्रतिनिधि सभा विघटन गर्न प्रस्ताव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशसँगै नैतिक उत्तरदायित्व लिएर सरकार गठनको मार्ग प्रशस्त गरिदिनुपर्ने बताउनुभएको हो । उहाँले त्यस कार्यतर्फ सदनको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले सरकारको कदमलाई असंवैधानिक भनेपछि प्रधानमन्त्रीले यसको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? त्यसका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन ? यतातिर सदन गम्भीर बनोस् ।’ 

उहाँले संविधानको जगमा नै बनेको सरकार भएकाले संसद्को गतिविधिलाई गतिशील बनाउने र सम्मान गर्ने दायित्व सरकारको पनि भएको बताउनुभयो । तर सरकार बनेदेखि नै वर्तमान सरकारले निरन्तर संविधानमाथि प्रहार गर्ने काम गरेको उहाँको भनाइ छ । पहिलो दिनबाट विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको सरकारले अग्रगमन गरेको छ कि प्रतिगमन गरेको छ ? भन्दै छातीमा हात राखेर, संविधानको किताबमा हात राखेर एक पटक सोच्न आग्रह गर्नुभयो ।  

सरकारले सामान्य शिष्टाचार पनि नगरि भूमिगत शैलीमा जनप्रतिनिधिको स्थल संसद्को अधिवेशन नै अन्त्य गरेको र हिउँदे अधिवेशन कुर्दै गर्दा आलोचना सुन्नुपर्छ भनेर एकलौटी ढङ्गले प्रतिनिधि सभा नै विघटन गरेको तर्क उहाँले गर्नुभयो ।

उहाँले महिला हिंसा तथा एसिड आक्रमणका अपराधीलाई कारबाही गर्ने सवालमा सरकारलाई आफ्नो पार्टीको सधैँ साथ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले सदनमा कुनै विधेयक अगाडि बढाउन चाहँदैन । बिल ल्याउन नै चाहँदैन । अत्तो थापेर पहिलो बैठकमा ल्याउन पाएनौँ, त्यसकारण हाम्रो रिजर्भेशन छ भन्नुहुन्छ । एसिड आक्रमणसँग सम्बन्धित अपराधीलाई कडा कारबाही होस्, त्यसका लागि हाम्रो पार्टी सधैँ तपाईँको साथमा छ ।’ 

संविधानको प्रावधान विपरीत वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई पार्टीले असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावाद, निरङ्कुशता प्रेरित कार्य भनेको स्मरण गर्दै उहाँले संविधानलाई सफल बनाउनेबाहेकको विकल्प कसैसँग नभएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको संसदीय व्यवस्थाप्रति पूर्ण विश्वास रहेको भन्दै उहाँले कसैले अधिनायकवाद, सर्वसत्तावाद र तानाशाह ल्याउँछु भनेर नसोच्न चेतावनी दिनुभयो ।

नेता खाँडले संविधान र संसद्लाई सफल बनाउने विषयमा मनबाट लाग्न पनि सबै दल तथा नेतालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानलाई बदल्छु, नेपालमा अधिनायकवाद ल्याउँछु, नेपालमा सर्वसत्तावाद ल्याउँछु र नेपालमा तानाशाह ल्याउँछु, मानसपटलबाट निरङ्कुशताको दिशामा बढ्छु भन्ने सबै नेता नेपालमा असफल भएका छन् । त्यहीँ बाटोमा अगाडि नबढ्नुहोस् ।’ 

उहाँले नेपाली कांग्रेस मधेशको समस्या समाधान गर्न र संविधान संशोधन गर्न तयार रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि संविधान कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति सम्झौता र शान्ति प्रक्रियामा हामी पूर्ण प्रतिबद्ध छौँ । अहिले पनि हाम्रो कमिटमेण्ट छ । तर जतिखेर यो हलमा अँध्यारो अनुहार लगाएर, मलिनो अनुहार लगाएर केही नेता बस्नुभएको थियो । उहाँहरू विभिन्न बहानामा यो शान्ति प्रक्रिया ध्वस्त पार्न, शान्ति प्रक्रियालाई अवरोध गर्न लागिरहनुभएको छ । समय आयो भने ती दल र नेताको नाम पनि भनौँला ।’ 

उहाँले प्रधानमन्त्रीले नौ महिनाअघि संसदमा उभिएर तीन महिनाभित्र सबै नागरिकलाई कोभिड भ्याक्सिन लगाउने भने पनि अहिलेसम्म नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसै रोस्टममा आएर सम्माननीय प्रधानमन्त्रीले अब तीन महिनाभित्र सबै नागरिकलाई कोभिडको भ्याक्सिन लगाइने छ भन्नुभएको थियो । प्रधानमन्त्रीले यहाँ आएर बोलेको कुरा पनि तीन महिना भइसक्यो । कुन चाँहि ३ महिना ७७ सालको हो कि ? ७८ सालको हो कि ? ७९ सालको हो कि ? ८० सालको तीन महिना हो ? सीमा नभएको ३ महिना हो कि ? १७ लाखलाई भ्याक्सिन लगाउनुभएको छ । स्टकमा सात लाखभन्दा बढी छैन । अब सेकेण्ड डोजको लागि त हामीसँग स्टक हुनुपर्थ्यो नि त ?’ 

नेता खाँडले अरूले सुरुवात गरेका योजना पूरा गरेर, भइसकेका कामलाई देखाएर नागरिकमा भ्रम छर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।उहाँले भन्नुभयो, ‘मेलम्चीको सपना त सन्त नेता कृष्णप्रसाद भटराईले देख्नुभएको हो नि । त्यो मेलम्चीको पानी आउने भयो, सबैलाई धन्यवादको एक पटक नाम लिन पनि तपाईँलाई कन्जुस्याइँ । डीपीआर गरेको छैन । बजेट छैन । शिलान्यास भइसक्यो धमाधम । वा रे विकास ।  कागजको विकास । दुई वर्षदेखि मोटर चलेको छ, गाडी कुदिरहेको छ, कालोपत्रको अहिले उद्घाटन । दुई वर्षदेखि पुलमा गाडी कुदिरहेको छ, अहिले बोर्ड लगाएर राजमार्गमा आमसभा, राजमार्गमा शिलान्यास यो कस्तो खालको विकास हो ? कस्तो खालको निर्माण हो ?’ 

उहाँले राम्रो कामको सुरुवात गरेका अग्रजलाई सरकारले सम्मान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘अल्पविकसित र विकसितको बारेमा पनि भुइँचालो नआएको भएदेखि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाजीकै पालामा भइसकेको हो । अहिले पूर्णता पाएको छ भने पनि मनमोहन अधिकारीको पालामा सुरु भएको छ, उहाँलाई धन्यवाद, भरतमोहन अधिकारीको पालामामा वृद्धभत्ताको सुरुवात भयो, उहाँलाई धन्यवाद । कमसेकम जसको पालोमा इनिशिएशन भएको छ, उहाँहरूलाई स्मरण गर्ने त गरौँ । उहाँहरूलाई पनि धन्यवाद दिने त गरौँ । यस्तो खालको दिउँसै रात पार्ने ढङ्गमा देश अगाडि नबढोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु ।’ 

कोभिडका बेला सरकारले श्रमिक, मजदुर ,शिक्षक, प्राध्यापक, पर्यटन व्यवसायी, उद्योगी, यातायात व्यवसायी किसान कसैलाई राहत दिन नसकेको भन्दै उहाँले ‘राहत पनि भूमिगत गरेको हो कि ?’ भनी व्यङ्ग्य गर्नुभयो ।

प्रमुख सचेतक खाँडले सरकारलाई श्वेत पत्र जारी गर्न चुनौती दिनुभयो । सरकारको नेतृत्व लिँदै गर्दा वर्तमान सरकारका तत्कालीन अर्थ मन्त्रीले विगतको सरकारले देशलाई ऋणमा डुबाएको बताएको उल्लेख गर्दै उहाँले अहिलेको यथार्थ अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको हालत के छ भने ऋण लिएर घिउ खाने । अहिलेको सफल सरकारले यति धेरै ऋण लिएको छ कि नेपालीको टाउकोमा यति धेरै ऋण कहिले पनि थिएन । सायद उहाँलाई लागेको छ होला, यस्तो स्थिति छ देशमा अब फेरि फर्केर आइन्छ कि आइँदैन । अब अहिले ऋण लिउँ तिर्ने बेलामा त अरू आइ हाल्छन् । हाम्रो पालामा ऋण लिउँ, घिउ खाउँ, अरूले तिरिहाल्छन् नि भन्नुभएको छ भने त केही भन्नु छैन ।’ 

उहाँले चालु खर्च बढी र पुँजीगत खर्च घटेर विकास कसरी बढ्छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘जसरी यो सरकार बन्दाखेरी अर्थ मन्त्रीले बढो उत्साहित भएर पूर्ववर्ती सरकारले ऋणै ऋणमा नेपाल पारेको थियो हामीले तपाईँ सबैलाई घिउ खुवाउँछौ भनेर श्वेतपत्र निकाल्नु भएको थियो नि । ह्वाइट पेपर निकाल्नुभएको थियो नि, याद होला नि । त्यो ह्वाइट पेपरमा चाँहि छलफल गर्नुपर्‍यो श्वेत पत्र भन्ने, यथार्थ पत्र भनेर जारी गर्ने, अगाडि अ थपेर अयथार्थ बनाउने ?’  

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया