बालुवाटार आइपुगेका बालबालिकालाई प्रधानमन्त्रीकाे सम्बाेधन : ‘सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ’

 चैत ९, २०७७ सोमबार १८:२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई पुर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोतलाई नयाँ उचाइमा लैजाने गरी काम गर्न अभिप्रेरित गर्नुभएको छ ।

बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याहरु र आफ्ना सुझावहरु दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा आइपुगेका बालबालिकालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालबालिकालाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताउनुभयो । ‘तपाईँहरुले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ’, प्रधानमन्त्रीको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमानदार रहन सम्झाउँदै पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमानदार ढङ्गले सहभागी हुन सुझाव दिनुभयो । साथै उहाँले नेपालका बालबालिका ज्ञानमा निपुण तथा आविष्कारक पूर्वजको सन्तति भएको उल्लेख गर्दै मेहनत गरेमा जुनुसुकै काम गर्न पनि बालबालिका सक्षम हुने पनि बताउनुभयो ।

पूर्वजहरूले ज्ञान विज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको प्रधानमन्त्रीको भनाइ थियो । ‘त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मेहनत गरेर प्रगति गर्नुपर्छ’, प्रधानमन्त्रीले बालबालिकालाई भन्नुभयो । 

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुको समूह कन्स्राेटियम नेपालद्वारा आयोजित कार्यक्रममा बालबालिकाले परिवार र समाजमा बालमैत्री वातावरण बन्नुपर्ने, विद्यालय व्यवस्थापन समितिसहित पालिकाका बालबालिकासम्बन्धी संरचनामा बाल क्लबका बालबालिकाको अनिवार्य र अर्थपूर्ण प्रतिनिधित्व गराउनुपर्ने र बालमैत्री स्थानीय शासनलाई सबै पालिका सरकारले लागू गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन् ।

यसैगरी पालिकाहरु बालमैत्री घोषणा हुनुपर्ने सुझाव उनीहरुको छ । यसका लागि बालमैत्री स्थानीय शासनसम्बन्धी परिमार्जित राष्ट्रिय रणनीति मन्त्रिपरिषद् पारित हुनुपर्ने माग पनि उनीहरुले गरेका छन् । 

यसैगरी पालिकाले बाल सहभागिता प्रवद्र्धन, बालबालिकाको समान विकासका लागि समावेशी सहभागिता सुनिश्चित गर्न बजेट छुट्याउनुपर्ने सुझाव पनि बालबालिकाले प्रधानमन्त्रीलाई दिए । यसैगरी विद्यालयमा कम बोल्ने बालबालिकाको सहभागितालाई प्राथमिकता दिनुपर्ने र पालिकामा बाल भेला नियमित र प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने माग पनि उनीहरुको छ । 

यसैगरी सबै बालबालिकालाई सन्तुलित र पौष्टिक आहारको सुनिश्चिता हुनुपर्ने परिवार र विद्यालयमा जङ्क फुडको प्रयोगलाई पूर्ण निषेध गर्नुपर्ने सुझावसमेत उनीहरुले दिएका छन् ।   

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया