‘महाकालीमा भारतले एकतर्फी बाँध बनाउँदा नबोल्ने सरकारले कसकाे सेवा गरेको छ ?’

 चैत १०, २०७७ मंगलबार १४:६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भारतले दार्चुलाको सदरमुकाम खलङ्गाको पारिपट्टी महाकाली नदीमा एकतर्फी बाँध बनाइरहे पनि सरकार बेखबर रहेको भन्दै आपत्ति जनाउनुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा सांसद बडुले भारतले बनाएको बाँधका कारण हजारौँ नेपालीको जीवन जोखिममा परेको र दार्चुलासहितका ठाउँ खतरामा रहेको बताउनुभयो । ‘भारतले यति ठूलो बाँध बनाउँदा सरकार बेखबर छ, आफ्नै देशका नागरिक खतरामा पर्ने गरी काम भइरहँदा पनि नबोल्ने सरकारले कसकाे सेवा गरेको छ ?’, बडुले प्रश्न गर्नुभयो । 

उहाँले सरकारले राष्ट्रवादका ठूला कुरा गर्ने तर भारतले बनाएको एकतर्फी बाँध रोक्न कुरासमेत नगरेको बताउनुभयो । पहिले पनि भारतले धौलीगङ्गा बाँध बनाउँदा नेपालले बोल्न नसेकेको र अहिले धौलीगङ्गा बाँधका कारण बर्सेनि नेपालीले ज्यान गुमाएको बडुले स्मरण गराउनुभएको छ । 

‘महाकालीको बाँधबारे सरकारले बेखबर रहेको लाजमर्दो जवाफ दिएको छ । भारतले बनाउँदै गरेको बाँधका कारण ठूलो क्षेत्र सखाप हुँदैछ’, बडुले भन्नुभयो ।  

तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्बर जमिन डुबानमा पर्ने जनाउँदै नेता बडुले नेपालको जमिन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषदमा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आफ्नो भूमि जोगाउन भारतले बनाउँदै गरेको बाँधको निर्माण तत्काल रोक्नुपर्छ, दुवै देशबीच विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्छ । प्रजिअ यस सम्बन्धमा सरकारको आदेश पर्खिरहेको छ ।’ 

देशको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको यस विषयमा उठाइएको प्रश्नको जवाफ प्रतिनिधि सभाको अर्को बैठकमा आओस् भनी उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया