ओलीसँग आत्मसमर्पण गर्दिनँ : माधव नेपाल

 चैत १०, २०७७ मंगलबार १७:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ । मङ्गलवार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाण्डाैमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालले सोधेको स्पष्टीकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताउनुभएको हो । उहाँले स्पष्टीकरणबाट आफूहरू नतर्सेको समेत बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आज एक जनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुपर्‍याे भने उहाँले जे–जे कारबाही गर्नुहुन्छ सहेर भए पनि, पार्टीबाट निकालि दिनुहुन्छ भने पनि, पार्टीबाट निकालिए पनि चुप लागेर सहेर बसिदिनुहोस् । के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ । हामी आतङ्कित भएका छैनौँ । त्यसको सामना गर्न तयार छौँ ।’

एमालेले सोधेको स्पष्टीकरणबाट भागेर मैदान नछाड्ने र पार्टी नफुटाउने पनि नेता नेपालले बताउनुभयो । अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहे पनि आफूले पार्टी नफुटाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मलाई एक जनाले भन्नुहुन्थ्यो स्टेजमा बस्दाखेरी अनुहार उज्यालो गर्नुहोस्, अलि अँध्यारो–अँध्यारो जस्तो भयो मुसुक्क हाँसिदिनुहोस्, म हाँस्ने प्रयत्न गर्दै थिएँ तपाईँहरूमा अलिकता पनि नपरोस् कि हामी तर्सेका छौँ, केपी ओलीको स्पष्टीकरणबाट तर्सेका छैनौँ । हामी मैदान छोडेर भाग्नेवाला छैनौँ, पार्टी हामी फुटाउँदैनौँ । पार्टी फुटाउने केपी होली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौँ । पार्टीलाई एकताबद्ध बनाउँछौँ ।’

आफू कहिले अलमलमा र द्विविधामा नपरेको पनि नेता नेपालले स्पष्ट पार्नुभएको छ । आफूले चुनौतीको सामना गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कस्ता–कस्ता कहाँ आए केपी ओली मेरो समुन्नेमा’ । केपी ओलीको अहिलेको चुरीफुरी प्रधानमन्त्रीको कुर्चीमा बस्दासम्म मात्रै हुने पनि नेता नेपालले बताउनुभयो । 

नेता नेपालले नेकपा एमाले आफूहरूको भएको पनि बताउनुभयो । केपी ओली बी–माले, सी–माले भएकाले पार्टी छोडेर गए हुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानुनी हिसाबले कब्जा गरे भने विचार गरौँला होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बी–माले हुन्, सी–माले हुन्, उनी यो पार्टी छोडेर गए हुन्छ ।’

केपी ओली र आफूहरूको बीचमा प्रवृत्ति र विचारको लडाइँ भएको पनि नेता नेपालले बताउनुभयो । ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको र आफू जहिले सङ्गठनलाई केन्द्रमा राखेर सोच्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो प्रवृत्ति सामूहिकतावादी छ । आफूलाई व्यक्तिवादी, आफूलाई केन्द्रमा राखेर चल्ने प्रवृत्ति केपी ओलीमा छ । हामीले सङ्गठनलाई केन्द्रविन्दुमा राखेर चल्ने कुरालाई प्रोत्साहित गर्दछौँ । हामीमा त्यो सङ्गठनवादी प्रवृत्ति रहेको छ ।’ 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Khagendra Dhungana

    March 23, 2021, 5:45 p.m.

    सबैजना मिलेर जानुपर्छ / तपाइँहरुको झगडाले देश बिग्रिन सक्छ , त्यसैले दुवै पक्ष अलि अलि लचिलो भएर जानुपर्छ ...मिलेर जानुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया