लकडाउनको एक वर्ष : कोरोना सङ्क्रमणको जोखिम फेरि पुरानै अवस्थामा

 चैत ११, २०७७ बुधबार ७:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनासम्म लकडाउन भयो ।

अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो । तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ ।

कोरोनाको जोखिम फेरि बढेको छ ।  लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ ।  कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ  । भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम परेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताउनुभयो ।

भारतमा कार्यरत नेपाली घर फर्किने क्रम बढेको छ । फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने भएकाले जोखिम बढ्ने डाक्टरले बताउँदै आएका छन् । घर फर्किनेहरुको नाकामा नै स्वास्थ्य परीक्षण गरिने भनिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।  सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानीलाई कडा पारेको छ । भारतमा संक्रमण फैलिएपछि नेपालले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ । सरुवारोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले सतर्कता नअपनाए भारतमा जस्तै नेपालमा सङ्क्रमण फैलिन सक्ने बताउनुभयो । जनस्वास्थ्यका मापदण्ड पालना हुन छोडेकाले  जोखिम थप बढेको उहाँले बताउनुभयो ।  

पोहोर भारतका सीमा क्षेत्रमा कडाइ नगर्दा नेपालमा सङ्क्रमण फलिएको थियो । अब पनि त्यस्तै अवस्थाको डर भएकाले अनिवार्य मास्क लगाउन र स्यानिटाइजरको प्रयोगमा डाक्टर जोड दिँदै आएका छन् । सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्ने तयारी गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन र क्वरेण्टीनलाई तयारी अवस्थामा राख्न गृह मन्त्रालयले निर्देशन दिइसकेको छ । 
 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया