‘आयाेजना पूर्वतयारीकाे काम नसकी ठेक्का नलगाउन दिइएकाे निर्देशन कार्यान्वयन गर्नुस्’

 चैत ११, २०७७ बुधबार २०:२४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको बुधवार बसेको बैठकमा हनुमन्ते करिडोरको अहिलेसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिका निर्णय सुनाउँदै सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो, ‘आयोजना पूर्वतयारीका काम सम्पन्न नगरि ठेक्का नलगाउन समितिले यसअघि नै मन्त्रालयहरूलाई र सम्बन्धित निकायलाई निर्देशन दिएको विषयमा फेरि स्मरण गराउँदै आउँदा दिनमा त्यहीअनुसार प्रक्रिया पूरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाइका साथ समितिको निर्देशनलाई कार्यान्वयन गरी काम अगाडि बढाउन समिति नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ ।’

हनुमन्ते करिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिए पनि मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाभित्रका केही ठाउँमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित सबैलाई समितिले सुझावसमेत दिएको छ ।

सभापति खड्काले भन्नुभयो, ‘हनुमन्ते करिडोर निर्माणको कार्यमा उल्लेख्य प्रगति भएको देखिए पनि मध्यपुरथिमि नगरपालिका वडा नं. ३ र सूर्यविनायक नगरपालिका वडा नं. २ का केही ठाउँमा देखिएको नागरिकका समस्या सम्बन्धमा समाधान पालिका, जिल्ला प्रशासन र सम्बन्धित आयोजनाहरूले आवश्यक समन्वय गरी उपयुक्त निकास निकाल्न आवश्यक देखिएको छ । यसर्थ निकास निकाल्नका लागि यो समिति पहल गर्नका लागि सुझाव दिन्छ ।’

करिडोर निर्माणका क्रममा नागरिकको जग्गासमेत पर्ने भएकाले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजनामार्फत सुनिश्चित गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हनुमन्ते करिडोर निर्माणका क्रममा नागरिकको जग्गासमेत पर्ने भएकाले सम्पत्तिको हकको संरक्षण गरेर त्यस कार्य जग्गा एकीकरण योजनामार्फत सुनिश्चित गर्ने र करिडोर निर्माण सम्बन्धमा अन्य समस्या देखिएमा त्यसको समाधानका लागि समितिले आवश्यक पहल गर्नेछ ।’   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया