पालिकाले ७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने, ओछ्याउने हाे र ! : प्रधानमन्त्री ओली

 चैत ११, २०७७ बुधबार १८:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाहरूमा पुँजीगत खर्च गर्ने क्षमता बढाउने गरी बजेट विनियोजन गरिने बताउनुभएको छ । बुधवार नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रूपमा रहेको बताउनुभयो । 

पुँजीगत खर्च गर्ने क्षमता भएकाहरूले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिँदा खर्च कम देखिएको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेटमा ७० प्रतिशत भनेको के गर्नुहुन्छ ? ७० प्रतिशत ओढ्ने, ओछ्याउने हो र ? वस्तुतः हेर्नुहुन्छ भने प्रशासनिक खर्चबाहेक विकासको त सबै कुरा हुने त्यहीँबाट नै हो । त्यहीँ जान्छ सबै । जहाँसुकै पनि पुँजीगत खर्च, खर्च गर्ने क्षमताको कमी यो राष्ट्रिय कमजोरी हो हाम्रो । क्षमता भएको ठाउँमा त पुँजीगत खर्च नभएर बेहाल छ भने क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन् गाह्रो हुन्छ । त्यसकारण त्यो पुँजीगत खर्च हुने गरी हामी विनियोजन गर्छाैँ । पुँजीगत खर्च नहुने गरी कतै थुपार्ने कतै केही गर्ने भन्ने केन्द्र सरकारको सोच होइन । म साथीहरूलाई स्पष्ट भन्न चाहन्छु त्यस्तो सोच हुनै सक्दैन । थुपारेर राखेर, फ्रिज गराएर के अर्थ छ र ?’

प्रधानमन्त्री ओलीले पालिकाहरूलाई अधिकार दिन नहिच्किचाएको पनि स्पष्ट पार्नुभयो । पालिकाले आफ्नो क्षमतालाई बढाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पालिकालाई अधिकार सम्पन्न नबनाए कसलाई अधिकार सम्पन्न बनाउने ? पालिकाले घरमा लगेर त्यो अधिकार गाईभैँसीलाई खुवाउने हो र ? त्यहाँ देश विकासका लागि, नागरिकका लागि खर्च गर्छन् नि । त्यसकारण त्यो अधिकार दिन हिच्किचाउनुपर्ने कुनै कारण छैन । खाली के भने क्यापिसिटी बिल्डिङको स्थितिमा अलिकति हामीले तालमेल मिलाउनुपर्छ । त्यो विकास गर्दै जानुपर्छ ।’ 

प्रदेश सरकार र पालिकाले केन्द्र सरकारले जस्तै सबै कुरा गर्न खोज्न नहुने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रदेश सरकार र पालिकाले सरकार भनेपछि केन्द्र सरकार जस्तै हो भन्ने भ्रम पनि राख्न नहुने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले कतिपय कुरा पालिकाहरूमा एकरूपताका साथ गर्नुपर्ने बताउनुभयो ।  

पालिकाहरूबीच भिन्नता नआइ समान ढङ्गले काम हुनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले चैत १५ गतेदेखि काठमाण्डाैमा मेलम्चीको पानी वितरण गर्न सुरु गर्ने जानकारी पनि दिनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया