काेराेना सङ्क्रमण भयावह हुन नदिऔँ : प्रधानमन्त्री ओली

 चैत ११, २०७७ बुधबार १९:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको छ । 

बुधवार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको हो । यद्यपि अहिले भयावहको स्थिति नभएको उहाँको भनाइ छ । 

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताउनुभयो । पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘तीन दिनदेखि लक्षणहरू फेरि नकारात्मकतातिर जान खोज्या हो कि भन्ने देखिएकाे छ, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ । अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेशन चाहिँ अझ बढी खतरनाक ढङ्गले अर्कै प्रकृतिमा पैदा भएको छ । हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन । एक पटक कडाइका साथ नियन्त्रण गरेर निर्मूल गर्नुपर्ने । खोप लगाएर निर्मूल हुन सजिलो छैन । पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्णरूपमा नियन्त्रण गर्न सामाजिक दुरी, सङ्क्रमण हुने स्थितिबाट बच्ने/बचाउने । सङ्क्रमण हुने स्थिति नहोस् ।’ 

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ सङ्क्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताउनुभयो । सङ्क्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीकहाँ यसको असर कम पर्‍याे । फेरि पनि कम पर्छ र बाहिर अन्यत्रजस्तो यसलाई हामी सङ्क्रमित हुन दिँदैनौँ । दिनु हुँदैन । विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । हामीले नियम, आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सीसीएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गर्नुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया