टीकापुर घटनाकाे सम्बन्धमा वार्ता टाेली गठन गरी संवादमा आउनुस् : गृहमन्त्री थापा

 चैत १२, २०७७ बिहीबार १७:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । 

थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिको आह्वानमा केही दिनदेखि माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा बसेका थारु अगुवाहरूलाई भेट्न बिहीवार पुग्नुभएका गृहमन्त्री थापाले सरकार र सङ्घर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो । त्यसका लागि सरकारले छिट्टै वार्ता टोली गठन गर्ने र सङ्घर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गर्नुभयो ।

उहाँले बिहीवारकै मन्त्रिपरिषद्को बैठकमा कुरा राखेर वार्ता टोली गठन गरी निष्कर्षमा पुर्‍याउने प्रतिबद्धतासमेत जनाउनुभयो । गृहमन्त्री थापाले टीकापुर घटनाका कतिपय विषय राजनीतिक रूपले हल गर्न सकिने र कतिपय कानुनी तथा प्रशासनिक रूपबाट हल गर्न सकिने बताउनुभयो । 

पूर्वसांसद रुकमणि चौधरीले धर्नाको पाँचौँ दिनमा गृहमन्त्री आफै आएर मागहरूको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताउनुभयो । उहाँले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकाले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखिएको बताउनुभयो । उहाँले थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिको नाउँमा लिखित रूपमा नेपाल सरकारले पत्राचार गरेमा मात्रै वार्ता टोली गठन गरी संवादमा जाने बताउनुभयो । 

थारु अगुवाहरूले २०७२ सालमा भएको टीकापुर घटनामा फैजदारी मुद्दा लागेकाहरूको मुद्दा फिर्ता र दोषी ठहर भइ जेलमा रहेकाहरूको रिहाइकाे माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुरज

    March 25, 2021, 11:48 p.m.

    हैन यो दोषी ठहरिएर जेल चलान भएका हरुलाई रिहाईको माग गर्दै धर्ना रे? अनि के पि वलि सरकार र गृहमन्त्री छोडन का लागि सकारत्मक रे?हैन यो कस्तो माग हो मधेसी समाज बादिको यहि माग लिएर बार्गिनिङ गरिराको छ।यहि हो त जनप्रतिनिधी काम अनि जनताको माग अपराधीहरु लाई जेल मुक्त गर्नु पर्छ??? सेर बहादुर अर्को अपराधीलाई छुटाउन पहल गर्ने के हो यो सब???यहि हो नेपाल को कानुन?काहानेर कहिले उठाउछ्न गरेका छ्न जनता का पिरमर्का देश बिकास का कुरा???थुक्का कस्ता नेताहरु लाई भोट दिएर जिताएर पठाइएछ!

  •  0 Reply

तपाईको प्रतिक्रिया