राष्ट्रवादी कम्युनिस्टहरू गाउँ–गाउँबाट उठ्नुपर्ने बेला आएको छ : जनार्दन शर्मा

 चैत १३, २०७७ शुक्रबार २०:३०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीलाई केन्द्रसँगै गाउँ तहबाट शुद्धीकरण गरी बलियो कम्युनिस्ट पार्टी बनाउने बताउनुभएकाे छ ।

माओवादी केन्द्र मकवानपुरका नेता कार्यकर्तासँग शुक्रवार हेटौँडामा रहेकाे पार्टी कार्यालयमा भेटघाट गर्दै नेता शर्माले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्णयको अधिकारको पक्षमा सशक्त अघि बढ्नुको विकल्प नभएकोमा जोड दिनुभयाे । 

‘नेपालमा कम्युनिस्ट आन्दोलन अहिले गम्भीर अवस्थामा पुगेको छ’, उहाँले भन्नुभयाे, ‘राष्ट्र र स्वाधिनतामाथि हमला भएकाले राष्ट्रवादी कम्युनिस्टहरू गाउँ–गाउँबाट उठ्नुपर्ने बेला आएको छ ।’ पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पहिचानसहितको नेपाल निर्माण अहिलेको प्रमुख माग रहेको भन्दै उहाँले त्यसका लागि माओवादी केन्द्रले नेतृत्वदायी र जुझारु रूपले भूमिका खेल्नुपर्ने बताउनुभयाे । 

पुँजीवादमा निर्भर हुँदा नेपालमा गरिब झन् गरिब र धनी झन् धनी बन्दै गएको भन्दै नेता शर्माले सरकारले बजारको अनुगमन मात्र गर्दा नागरिक धेरै मारमा परेको बताउनुभयाे । ‘विश्वभर पूर्ण पुँजीवादी व्यवस्था असफल भइसकेको छ’, उहाँले भन्नुभयाे, ‘राज्य नियन्त्रित पुँजीवाद अर्थात् समाजवाद आवश्यक भइसकेको छ ।’ 

नेपालमा समाजवाद प्राप्त गर्न नेतृत्व गर्ने पार्टी आवश्यक भएको भन्दै त्यसका लागि माओवादी केन्द्रलाई उत्पादनसँग जोडिएको पार्टी बनाउनुपर्नेमा स्थायी कमिटी सदस्य प्रभाकरले जोड दिनुभयाे । पार्टीका सबै कमिटी आन्तरिक जनवाद (लोकतन्त्र) मूलक बनाउनुपर्ने भन्दै सबै नेता कार्यकर्ता गम्भीर भइ गाउँ–गाउँमा सङ्गठन विस्तारमा तत्काल लाग्न उहाँले आग्रह गर्नुभयाे । 

माओवादी केन्द्रलाई गरिब, विपन्न, उत्पीडित वर्गको पार्टी बनाउन देशभर २० लाख घर–परिवारलाई पार्टीमा सङ्गठित गर्नुपर्ने भन्दै उहाँले पार्टीले एकता अभियानलाई सँगसँगै लगेर देश र नागरिकका पक्षमा काम गर्ने दाबी गर्नुभयाे ।   

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया