कमलपोखरीमा अभियन्ताको नाममा राजनीति भयो :  मेयर शाक्य

 चैत १४, २०७७ शनिबार १५:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले अभियन्ताका नाममा राजनीति नगर्न सुझाव दिनुभएको छ । वडा नम्बर १५ मा भएको कार्यक्रममा मेयर शाक्यले विकास निर्माणका काममा सबै जनप्रतिनिधिको एक मत रहे पनि केही ठाउँमा व्यक्तिगत र राजनीतिक स्वार्थका कारण केही समस्या भएको दाबी गर्नुभयो । 

उहाँले मतदाताको गुनासो सुनिसकेपछि अन्तिममा सम्बाेधन गर्दै कमलपोखरीलगायतका केही स्थानमा अनावश्यक विरोध गर्दा पुनर्निर्माणको काममा ढिलाइ भएको बताउनुभयो ।

‘कमलपोखरी पुनर्निर्माणमा स्थानीय कसैको पनि विरोध छैन,’ शाक्यले भन्नुभयो, ‘बाहिरका मान्छे कमलपोखरी पुगेर अनावश्यक अवरोध गर्ने प्रयास गरिरहेका छन् । अभियन्ताका नाममा कमलपोखरीमा असान्दर्भिक कार्य गरेर नागरिकलाई भ्रम छर्ने प्रयास भैरहेको छ ।’

केही अभियन्ताहरु कमलपोखरीको माटो अनुहारमा दलेर प्रधानमन्त्रीको राजीनामा माग्न बालुवाटर गएको प्रसङ्ग पनि कोट्याउनुभयो ।

‘कमलपोखरीको माटो र प्रधानमन्त्रीको राजीनामाबीच के सम्बन्ध छ ? अभियन्तालाई प्रश्न गर्न चाहन्छु,’ शाक्यले भन्नुभयो, ‘अभियन्ताले अनुहारमा कमलपोखरीको माटो दलेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने ? यस्तो असान्दर्भिक विषयलाई समेत जोडेर नागरिकलाई भ्रम छर्ने र विकास निर्माणका काममा अवरोध गर्ने प्रयास भैरहेको छ । तर अवरोधलाई चिर्दै हामी समयमै कमलपोखरी पुनर्निर्माण सम्पन्न गर्छौं ।’

शाक्यले त्यस्ता कुरालाई महानगरबासीले बोलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । शाक्यले विभिन्न सामाजिक सञ्जालमा पनि अभियन्ताको फरक–फरक परिभाषा उल्लेख गर्ने गरेको भन्दै राजनीतिक र व्यक्तिगत स्वार्थ पूरा गर्ने अभियन्ताले विकास निर्माणमा अवरोध गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।  

‘शब्दकोषमा अभियन्ताको अर्थ इञ्जिनियर हुने रहेछ ।  विभिन्न सामाजिक सञ्जालमा केहीले अभियन्तालाई इञ्जिनियर केहीले विज्ञ भन्छन्’ उहाँले भन्नुभयो, ‘सबैभन्दा सजिलो अहिले अभियन्ता बन्न भएको छ । हामीले कमल पोखरी निर्माण गर्दा त्यस्तै अभियन्ताहरुले महानगरपालिकाले कंक्रिटको कमलपोखरी बनाउन लाग्यो भनेर भ्रम फैलाउने काम गरे । तर हामीले राखेकाे डिजाइनमा कतै पनि कंक्रिटको पोखरी उल्लेख छैन ।’

शाक्यले हिजो भन्दा हेर्न लायकको कमलपोखरी बनाउन लागेकाे भन्दै  आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने कमलपोखरी बन्ने दाबी गर्नुभयो ।

‘वास्तुशास्त्रमा आधारित पोखरी बनाउन लागेका हौँ । पुरातत्व विभागले पनि मौलिकता कायम गर्नु भनेर भन्यो । मैले पुरातत्व विभागलाई मौलिकता कायम गर्न के गर्नुपर्छ हामीलाई डिजाइन दिनु भने’ शाक्यले भन्नुभयो, ‘पुरातत्व त्यो त मलाई पनि थाहा छैन भन्छ । कतिपय अवस्थामा पुरातत्व विभागबाट पनि भ्रम छर्ने काम भैरहेको छ ।'

पुरातत्व विभागकाे भ्रममा नपर्न पनि मेयर शाक्यले आग्रह गर्नुभयाे ।  उहाँले कसैकाे विराेधमा काम नराेकिने भन्दै केही दिन भित्रै पानी भर्ने योजना रहेकाे बताउनुभयाे ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया