प्रदूषण घट्यो तर फेरि बढ्ने सम्भावना : वातावरण विभाग

 चैत १९, २०७७ बिहीबार १३:४७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनदेखि बढेको वातावरण प्रदूषण केही कम भएको छ । बुधवार पानी परेपछि प्रदूषण केही घटेको हो । पूरै हट्न भने अझै केही समय लाग्ने वातावरणविद्ले बताएका छन् । 

वातावरण विभागका अनुसार आउँदो एक हप्तासम्म नै वातावरण प्रदूषण कायमै रहने देखिएको छ । तत्काल पूरै प्रदूषण हटेर जाने सम्भावना न्यून रहेको विभागका सूचना अधिकारी शङ्करप्रसाद पौडेलले बताउनुभयो। 

उहाँका अनुसार अहिले बिस्तारै घट्दै गए पनि अझै केहीदिन प्रदूषण अहिलेकै अवस्थामा कायम रहने छ । 'अस्तिभन्दा हिजो र हिजो भन्दा आज प्रदूषणको मात्रा घटेको तर पूरै घट्न अझै केही दिन लाग्न सक्छ' उहाँले भन्नुभयो । पानी परे वा ठूलो हावा चले घटेर जान्छ तर, मौसम यस्तै रहिरहे प्रदूषण कायमै रहने देखिन्छ’ । 

हिजो काठमाण्डौको रत्नपार्कको एक्यूआई एक सय ६९ पुगेको थियो र आज पनि त्यत्ति नै रहेको छ । सामान्यतया एक्यूआई ५० सम्म हुनु राम्रो हो । ५० देखि एक सयसम्मलाई सामान्य मानिन्छ । एक्यूआई एक सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । दुई सयसम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ ।

एक्यूआई तीन सय  पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि  जानु चाहिँ घातक मानिन्छ । अहिले नेपालको वातावरणप्रदूषणकाे मात्रा १ सयदेखि दुईसयको बीचमा रहेकाले सावधानी अपनाउन आवश्यक रहेको छ । वातावरण प्रदूषणबाट जोगिन विभागले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह पनि गरेको छ । 

आउँदो सोमवारसम्म प्रदूषणको मात्रा केही कम हुँदै गए पनि फेरि मंगलवारदेखि बढेर जाने विभागको अनुमान छ । वातावरण प्रदूषणको मात्रा एक्यूआई ३ सयभन्दा माथि पुगे स्वास्थ्यमा निकै नै खतरा हुन्छ । अहिले प्रदूषणको मात्रा आपतकालीन अवस्थामा पुगेको छैन तर जोखिम भने कायमै रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, 'केही मात्रामा घटेको देखिएको छ, तर धेरै घटेको अवस्था छैन।'

तुवाँलोलेझै ढाकिराखेकाले सचेत हुन उहाँको आग्रह छ । तराईलगायत देशका विभिन्न जिल्लामा लागेको डढेलो रोकथाम भए प्रदूषणको मात्रा पनि कम हुँदै जाने विभागको भनाइ छ । केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा गएको शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो ।

शनिवारदेखि काठमाण्डौ उपत्यकासहित देशभरको आकाशलाई तुवाँलोले ढाकेको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया