सिसडोलमा फोहर विसर्जनको अवरोध हट्यो, आजैदेखि फाेहर उठ्ने

 चैत २०, २०७७ शुक्रबार १३:४५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका र ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासीसहित जनप्रतिनिधिबीच शुक्रवार भएकाे छलफलपछि फोहर विसर्जनको अवरोध हटेको छ । बिहीवार भएको छलफलमा काठमाण्डाै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य अस्वस्थ्य भएपछि शुक्रवार बस्ने गरी टुङ्गिएको थियो । आँखामा समस्या भएपछि प्रमुख शाक्य बिहीवार वार्तामा अन्तिमसम्म बस्न सक्नुभएको थिएन ।

शुक्रवार पनि उहाँ बिरामी अवस्थामै उपस्थित भइ वार्तामा बस्नुभएको थियो । फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर विसर्जनमा अवरोध गर्दै आएका थिए । फोहर विसर्जनमा अवरोध भएपछि शुक्रवार काठमाण्डाै महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरूका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरू सहमत भएका हुन् ।

छलफलका क्रममा उनीहरूका माग सम्बाेधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि राखेका माग सम्बाेधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले केही मागका बारेमा थप छलफल गरी थप व्यवस्थित ढङ्गले अघि बढ्न सकिने पनि बताउनुभयो । प्रमुख शाक्यले छलफलमा आफूहरूले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताउनुभयाे । स्वास्थ्यसम्बन्धी बुँदामा अझै छलफल गरी अघि बढ्न सकिने उहाँको भनाइ थियो । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाण्डाैकाे अस्पतालमार्फत सेवा उपलब्ध गराउने हो त्यो विषयमा प्रष्ट धारण बनाएर आउन उहाँले आग्रह गर्नुभयो ।  

धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाण्डाैले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले स्थानीयस्तरका समस्या संस्थागत रूपमा आउनुपर्नेमा जोड दिँदै त्यसो भयो भने मात्रै सङ्घीयताले पालिका सरकारलाई दिएको अधिकारले सार्थकता पाउने बताउनुभयो ।    

छलफलमा सहभागी ककनी गाउँपालिका ३ का अध्यक्ष घननाथ बजगाईँले फोहर विसर्जनको अवरोध हटेको जानकारी दिनुभयो । ‘प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाण्डाै महानगरपालिकाले तत्कालका लागि खर्च बेहाेर्ने, जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउनेलगायतका सहमतिपछि फोहर विसर्जनको अवरोध हटेको छ’, बजगाईँले भन्नुभयो, ‘अब आजैबाट फोहर उठ्छ ।’ 

काठमाण्डाै महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आउँदाे आर्थिक वर्षको बजेटमा तीन/तीन करोड रुपैयाँ व्यवस्था गर्ने, धुनीबेसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिनेलगायतका विषयमा सहमति भएको छलफलमा भएका सहमतिलाई अन्तिम रूप दिइ सहमतिमा हस्ताक्षर गर्ने बताउनुभयो ।  

दुई दिनअघिको छलफलमा प्रमुख शाक्यले प्रभावित क्षेत्रका विद्यालयका लागि ५१ जना शिक्षकको दरबन्दी माग गरेको भन्दै त्यो मागप्रति सकारात्मक बनी नेपाल सरकारबाट स्थायी दरबन्दीपछि स्वतः हट्ने गरी तत्कालका लागि उहाँहरूले व्यवस्था गरेको अस्थायी दरबन्दीका ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।  

त्यसैगरी दुई दिनअघि नै भएको छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आउँदाे  आर्थिक वर्षको बजेटमा तीन/तीन करोड रुपैयाँ व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राख्नुभएको थियो । 

त्यसैगरी प्रमुख शाक्यले यसअघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स खरिद गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसअघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयबासीले असन्तुष्टि व्यक्त गरेपछि उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।   

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया