मेलम्चीको पानीले जमिनमुनिको पानीकाे दोहन कम गर्छ : राष्ट्रपति भण्डारी

 चैत २०, २०७७ शुक्रबार १८:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदूषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताउनुभएको छ ।

मेलम्चीको पानी औपचारिक रूपमा वितरण सुरु गर्न शुक्रवार खानेपानी मन्त्रालयले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा उहाँले तीन ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गर्नुभएको हो । मेलम्चीको पानीले जमिनमुनिको पानी कम दोहन गर्नसमेत सहयोग मिलेको उहाँले बताउनुभयो । मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले पानीका स्रोत संरक्षणसँगै वायु प्रदूषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुभएपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सम्पन्न भएको छ, पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ, दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ, उहाँले भन्नुभयो । 

केही जनसङ्ख्या स्वच्छ खानेपानीको सेवाबाट अझै बञ्चित रहेकाले त्यसको व्यवस्थापनमा पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । मेलम्चीको पानी राजधानी आएसँगै जमिनमुनि पानी पुनर्भरणमा समेत ध्यान दिन पनि उहाँले सरोकार भएका निकायलाई निर्देशन दिनुभयो । पानीका विषयमा आवश्यक अध्ययन अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थालाई प्रोत्साहन गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । 

यही चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार राजधानीमा चार करोड लिटर पानी हालेर परीक्षण सुरु गरिएको थियो । परीक्षण सफल भएपछि शुक्रवारदेखि साढे आठ करोड लिटर पानी परीक्षण सफल भएको क्षेत्रमा वितरण गरिएको हो । पानी वितरण गर्न उपत्यकामा नौ पोखरी निर्माण सम्पन्न भएका छन् । एक पोखरी अहिले निर्माण भइरहेको छ ।

गएकाे फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ अम्बाथानमा रहेकाे सुरुङबाट हालिएको पानी २६.५ किमी दुरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो । पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड दुई सय ६० लिटर पानी हालेर परीक्षण गरिएको थियो । महाशिवरात्रिका अवसरमा दुई दिन मेलम्चीको पानी वाग्मतीमा बगाएर पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्ने अवसरसमेत दिइएको थियो । 

मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले शुक्रवारदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ । केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणमा याङ्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने योजना छ । दोस्रो चरणको कामसमेत सुरु भइसकेको आयोजनाले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जीत बहादुर सारूमगर

    April 2, 2021, 7:46 p.m.

    सत्कर्म गरे फल अवश्य पाइन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया