२० वर्षमा बीसाैँ सरकार बदलिनु तर नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो : रविन्द्र मिश्र

 चैत २३, २०७७ सोमबार १८:२६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । सोमवार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिले अघि बढिरहेकाे राजनीत अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गर्नुभएको हो । 

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरीत भएको उहाँले । उहाँले भन्नुभयो, ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिराखेको छ, त्यो अत्यन्त निन्दनीय छ, त्यो अत्यन्त लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरीत छ, यो राष्ट्रहित विपरीत छ ।’

संविधानले तय गरे अनुरूप सु–संस्कृत रूपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि अध्यक्ष मिश्रले बताउनुभयो । अहिले भइराखेको गतिविधि संविधानको विपरीत भइराखेको बताउँदै उहाँले दलहरूले संविधानको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो । त्यसबाट मात्रै सु–संस्कृत राजनीति स्थापित गर्न सकिने पनि बताउनुभयो । 

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्षदेखि नै धरमराईरहेको टिप्पणी समेत गर्नु भएको छ  । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहेपनि अहिले पनि धरमराइरहेको स्थितिमा लोकतन्त्र रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दुरदर्शिताको अभाव हो । यी सबै अभावका साथै समाजमा विद्यमान विभेद र सीमान्तकृतहरूले उपभाेग गर्न पाउने अधिकारको अभाव फेरि आफ्नो ठाउँमा छ । ७० वर्ष भइसक्यो नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नका लागि प्रयास भइराखेको । अहिले पनि हेर्ने हो भने लोकतन्त्र धरमराएकै स्थितिमा हो । त्यो संस्थागत भइसकेको स्थितिमा होइन । यो नेपाली राजनीतिको विडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा बीसाैँ सरकार बदलिनु तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

उहाँले आफ्नो दलले देशभरका नागरिकको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा र स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पार्नुभयो । यी विषय सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने पनि उहाँले बताउनुभयो । यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतीपूर्ण विषय बनेको अध्यक्ष मिश्रले बताउनुभयो । वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसी मनाउने मन्त्री र राजनीतिक दलबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पनासमेत गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रोजगारीको विषय यति महत्त्वपूर्ण छ । देशका नागरिक बेच्नमा हामी गर्व गर्छाैँ । श्रम सम्झौता हुँदा हाँसी–हाँसीकन मन्त्रीले हात मिलाएको फोटोहरू हामी सबैले देख्न पाउँछौँ । त्यो त लज्जाको विषय हो नि ! देशको श्रमशक्ति बेचेर अनि त्यसमा खुसी मनाउने, त्यो होइन ।’ 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया