‘देश अध्यक्ष प्रचण्डकै वरिपरि घुमेकाे छ’

 पुष २५, २०७८ आइतबार २०:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रविन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गर्नुभयो ।

आज आइतवार हामीसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै उहाँले देश शान्ति प्रक्रियायता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताउनुभयो । उहाँले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताउनुभयो । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिको केन्द्रविन्दु चितवन बन्नुमा मलाई के लाग्छ भने राजनीति क्रान्ति गरेर यो देशलाई परिवर्तनको विन्दुमा ल्याउने नेतृत्व, अध्यक्ष कम्रेड प्रचण्ड । आखिर देश त उहाँकै वरपर घुमेको छ । २०६४ देखि यहाँसम्म आइपुग्दा । शान्ति प्रक्रियादेखि यहाँसम्म आइपुग्दा । हरेक कालखण्डमा देशमा ठूला सङ्कट आउँदा पनि आखिर देशको समस्याको निकास दिने व्यक्ति भनेकाे अध्यक्ष कम्रेड प्रचण्ड र पार्टी भनेको माओवादी । प्रचण्ड यहाँको नभइ अन्यत्र जिल्लाको प्रतिनिधि हुँदा चितवनको अवस्था के थियो ? त्यो आकर्षण चितवनमा थिएन । अध्यक्ष कम्रेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रूपमा आउनुभयो तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ ? राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा, सबै हिसावले । अहिले हरेक गतिविधि राजधानी काठमाण्डाैभन्दा पनि चितवन केन्द्रित छन् । विभिन्न पार्टीका सभा–सम्मेलन, मेला, प्रदर्शनी, किन भइरहेका छन् भन्दा जसरी देश उहाँकै वरपर घुमिरहेको छ, त्यसैगरी उहाँ यहाँबाट प्रतिनिधित्व गरेको कारणले गर्दा चितवन जिल्लाको महत्त्व बढेको छ । अर्को कुरा भरतपुर महानगरपालिकामा जुन ढङ्गले विकास भएको छ, विकासको चर्चा, परिचर्चाका कारणले पनि, वैकल्पिक राजधानीको रूपमा यो स्वतस्फूर्त बन्दै गइरहेको छ ।’

मेयर दाहालले आफ्नो साढे चार वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरेभन्दा धेरै काम गरेको दाबी गर्नुभयो । उहाँले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केरा खेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आउँदा दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गर्नुभयो ।

मेयर दाहालले शीर्षस्थ नेताहरू भएको ठाउँको विकास अलि चाँडै हुने गरेको र त्यसको प्रभाव चितवनमा पनि परेको बताउनुभयो । उहाँले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकाले गर्दा अरबाैँ रुपैयाँकाे बजेटका योजना गर्न सफल भएको बताउनुभयो । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया