लाङटाङबाट मतपेटिका बाेकेर मतगणनास्थल पुर्याइँदै

 बैशाख ३१, २०७९ शनिबार १०:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाकाे गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङको मतपेटिका ढुवानी सुरु भएको छ । यसपटक मतपत्र ढुवानीको लागि हेलिकप्टरको व्यवस्था नहुँदा मान्छेले बोकेर ढुवानी गर्दै छन् । अन्य क्षेत्रको मतपेटिका शुक्रवार नै गणनास्थलमा पुर्याएर मतगणना सुरु गरिएको छ । 

यसअघि भएका चुनावमा लाङटाङको मतपेटिका हेलिकप्टर मार्फत ल्याउने गरिएको थियो । तर यसपटक गृह मन्त्रालयले हेलिकप्टरको प्रयोग हुने ठाउँमा पनि मान्छेले नै ढुवानी गर्ने परिपत्र गरेका कारण शुक्रवार ल्याउन सम्भव नभएको हो ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले गोसाइँकुण्ड गाउँपालिकाको मतगणना आज बुलकादेखि सुरु गरिने जानकारी दिनुभयो । ‘लाङटाङको मतपेटिका आज बेलुकासम्ममा आइपुग्छ’, उहाँले भन्नुभयो ‘मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्छौं ।’

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेकाे लाङटाङमा ८३ दशमलव १९ प्रतिशत मत खसेको छ । यस वडामा ३ सय ६३ मतदाता थिए । जसमा ३ सय २ मत खसेको हो । त्यहाँ १ सय ६२ पुरुष र १ सय ४० महिलाले मतदान गरेका छन् । गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेकाे सामुदायिक भवनमा मतदान केन्द्र राखिएको थियो ।

चुनाव गराउनका लागि चार सदस्यीय टोली लाङटाङ गएको थियो । जसमा मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शङ्करप्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहरी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको थियो । ५ सयभन्दा कम मतदाता रहेका केन्द्रमा ४ जना कर्मचारी खटाइने प्रावधान अनुसार चार जना कर्मचारी खटाइएको हो। जिल्लामा यसपटक करिब ७७ प्रतिशत मत खसेको थियो । 

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया