सुरुवाती मतगणनामा बागी र स्वतन्त्र उम्मेदवारको रोचक अग्रता

 बैशाख ३१, २०७९ शनिबार १९:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पालिका चुनाव २०७९ मा चर्चामा आएका स्वतन्त्र तथा बागी उम्मेदवारहरू प्रारम्भिक मतगणनामा पनि प्रतिस्पर्धात्मक देखिएका छन् । सुरुवाती मतगणनामा ठूला दलहरू कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा भइरहे पनि स्वतन्त्र र बागी उम्मेदवारहरूको परिणाम पनि रोचक देखिन्छ । गठबन्धन वा टिकट वितरणप्रति असन्तुष्टि जनाएका तथा दलीय व्यवस्थालाई चुनौती दिँदै उम्मेदवार बनेकाहरूको पक्षमा पनि राम्रो जनमत देखिएको छ । 

सबैभन्दा बढी चासो र चर्चा भएको काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह मतगणना सुरु हुँदादेखि नै अगाडि हुनुहुन्छ । चितवनमा सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेत्री रेणु दाहाललाई टिकट दिएपछि असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेस नेता जगन्नाथ पौडेल सुरुवाती गणनामा तेस्रो स्थानमा रहेर सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछ्याइरहनुभएको छ । 

जनकपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह सुडीले दोब्बरभन्दा धेरै मतले अग्रता लिनुभएको छ । कांग्रेसको उपमहानगर सभापति रहनुभएका उहाँ सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा मेयर पद कांग्रेसले नपाएपछि राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । 

सुदूरपश्चिमको राजधानी धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवती गणनामा अग्रता हासिल गर्नुभएको छ । महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीेले अग्रता बनाउनुभएको छ । काभ्रेको धुलीखेल नगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार विदुरबहादुर बस्नेतले अग्रता लिनुभएको छ । गठबन्धन दलबीच चुनावी तालमेल गर्दा मेयर पद नेकपा एकीकृत समाजवादीको भागमा परेपछि बस्नेतले असन्तुष्टि जनाउँदै उम्मेदवारी दिनुभएको हो । 

यस्तै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएकै वडामा कांग्रेसबाट असन्तुष्ट समूहका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी) का नरेश भण्डारी निर्वाचित हुनुभएको हो । डडेल्धुरामा कांग्रेसका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले टिकट वितरणमा देउवासँग असन्तुष्टि जनाउँदै नेकपा एमालेसँग तालमेल गरेर कांग्रेस बीपीको चुनाव चिह्नमा उम्मेदवारी दिएको हो । 

यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओलीको प्यानलै विजयी भएको छ । एक हजार १ सय १४ मत खसेकोमा नेकपा (माओवादी केन्द्र) का लक्ष्मण ओलीलाई १ सय ६० मतान्तरले पराजित गर्दै ओली विजयी हनुभएको हो । नेकपा माओवादी केन्द्र त्रिवेणीको वरिष्ठ उपाध्यक्ष रहनुभएका सुन्दरले टिकट नै नपाएपछि प्यानल बनाएर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । 

यस्तै नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी बनेका नरेन्द्र बस्नेत बुटवल उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया