याैन हिंसामा उजुरीकाे हदम्याद हटाउँदा नक्कली मुद्दाकाे चाङ लाग्न सक्छ : सांसद विश्वकर्मा

 जेठ २३, २०७९ सोमबार १६:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौन हिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिनुभएको छ । 

आज साेमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाकाे चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाइ मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताउनुभएको हो । उहाँले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरूले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भए पनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गर्नुभयो । 

सांसद विश्वकर्माले भन्नुभयो, ‘यौन हिंसा गम्भीर प्रकारको अपराध हो । यसका दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्दछ । तर अपराध भन्नेबित्तिकै यसको हदम्याद राख्ने कि नराख्ने भन्नेबारेमा चाहिँ छलफल हुनुपर्दछ जस्तो लाग्छ । अपराधीलाई दण्डित गर्न र पीडितलाई न्याय दिनका लागि हामीेल हदम्याद नराख्दा वा राख्दा प्रमाण भेटिने आधार के हुन्छ ? हदम्याद नराख्दा प्रमाण भेटिन्छ कि मेटिन्छ ? तर हाम्रा पुराना कानुनहरूले के भन्छ भने– यस्तो किसिमको जघन्य अपराधका घटना वा जबरजस्ती करणीमा जति छिटो उजुरी गर्न गयो, त्यति ज्यादा प्रमाणहरू भेटिने हुँदा त्यति नै छिटो पीडकलाई दण्ड सजायको भागी बनाउन सकिन्छ भन्ने मान्यता छ । तर आज मान्यता ठ्याक्कै उल्टो बदलिएको जस्तो लाग्छ । जतिसक्दो ढिलो उजुरी गर्‍याैँ अथवा जति ढिलो कानुनको ढोका ढकढकाउन गयौँ, त्यति धेरै न्याय पाइन्छ भन्ने मान्यता मैले बुझ्न सकिराखेको छैन ।’

सांसद विश्वकर्माले कुनै पनि क्षेत्रको कानुन तुर्जुमा गर्नुअघि त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया