डाक्टर गाउँमा जानै मान्दैनन् : स्वास्थ्य मन्त्री खापुङ

 असार १६, २०७९ बिहिबार १६:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले डाक्टरहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताउनुभएको छ । 

आज बिहीवार नेपाल स्वास्थ्य प्राविधिक सङ्घको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशका विभिन्न जिल्लाबाट दरबन्दी खाली रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘म स्वास्थ्य मन्त्री भएको दुई दिनमात्र भएको छ । यो दुई दिनको अवधिमा धेरै मान्छेले जिल्लामा डाक्टर पठाइदिनुपर्‍याे दरबन्दी यति छ भनेर आउनुभएको छ । नर्स पठाइदिनुपर्‍याे दरबन्दी यति छ भनेर आउनुभएको छ । कोही जान तयार हुनुहुन्न ।’ 

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूरुले जुनकुनै बेला कुनै क्षेत्रमा पनि जानुपर्नेछ भन्ने मानसिकताको विकास गर्न आवश्यक रहेको बताउनुभयो । अहिले सरकार सङ्घीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको उहाँको भनाइ छ । 

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरू जुनकुनै क्षेत्रमा जान तयार हुने हो भने संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

1 Comments

  • Roshan khadka

    July 1, 2022, 6:37 a.m.

    मन्त्रीज्युलाई यो थाहा छ कि छैन लोकसेवा अन्तर्गत के कति चिकित्सक छ्न , लगभग १४०० र सबैजना धेरै जसो सुगम आफुले कमाउन मिल्ने ठाउँमा नै बस्छ्न र जो दुर्गम जान्छ्न उनिहरु आफ्नो बढुवाको मापदण्ड पूरा गर्न मात्र जाने गर्छ्न ।अब जसरी एन एम सिले प्रतेक ३ महिनामा लाईसेन्सको जाँच लिन्छ त्यसरी नै कम से कम लोकसेवाले सबै बिधामा ६ ६ महिनामा खोलेर गर्नुस त्यस्तो बौद्धिक जनशक्ति देशैको सेवा गर्नेछ्न ।

  •  0 Reply

तपाईको प्रतिक्रिया