हरितालिका तिज : पशुपतिनाथमा व्रतालुकाे भिड, ‘१५/२० मिनेटमै दर्शन’ (तस्बिरहरू)

 भदौ १४, २०७९ मंगलबार १३:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज हरितालिका तिज । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

आज काठमाण्डाैकाे पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा व्रतालु महिलाहरूको भिड लागेको छ । पशुपतिनाथको पूजा, आराधनाका लागि पशुपतिनाथमा पनि भक्तालु एवम् व्रतालु महिलाको घुइँचो लागेको छ । भगवान् शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपतिनाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरू दर्शनका लागि लाइनमा बसेका छन् । मन्दिर आसपास महिलाहरू नाचगान गर्दै रमाइलो गरिरहेका देख्न सकिन्छ ।

अन्य वर्षको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरू बताउँछन् । अन्य समय दर्शनका लागि घण्टौ कुर्नुपर्ने समस्या भएको तर यस पटक भने १५/२० मिनेटमै दर्शन गर्न सकिएको भन्दै उनीहरूले खुसी व्यक्त गरे । 

त्यस्तै पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले सम्बन्धित सरोकारवालासँग छलफल गरेर सुरक्षाको व्यवस्थापन गरेकाले सजिलाे भएकाे बताउनुभयो । आज दिनभरका लागि नै सबै ढोका दर्शनार्थीका लागि खोलेको र जुन ढोकाबाट दर्शन गरेको हो त्यही ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाएकोले व्यवस्थापनमा कठिनाइ नभएको बताउनुभयो । उहाँले व्रतालुको स्वास्थ्य हेरचाहका लागि पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अस्पतालका स्वास्थ्यकर्मीको टोली खटाइएको बताउनुभयो । उहाँले व्यवस्थापन सहजताका लागि नेपाल प्रहरी र विभिन्न सामाजिक संस्था परिचालन गरिएको बताउनुभयो । 

हिजो (सोमवार) दर खाएपछि औपचारिक रूपमा सुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ । तिजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत लिने गरिन्छ । अविवाहित महिलाले आजको दिन व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् । 

तस्बिर : न्युज एजेन्सी नेपाल र रासस

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया